समाचारबुधबार, पौष २४, २०७०
नेताले गुण्डा संरक्षण नगरे भ्रष्टाचार रोकिन्छः कार्की
हेटौडास्थित अख्तियारको मध्यामाञ्चल क्षेत्रीय कार्यालयको २४ पुसमा उदघाटन गर्दै अख्तियार प्रमुख कार्कीले गुण्डाहरुलाई राजनीतिक संरक्षण नदिइए भ्रष्टाचार नियन्त्रण हुने बताए । उनले विकास आयोजनासँग सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी र गुण्डाहरुलाई राजनीतिक संरक्षण नगरिए भ्रष्टाचार आफै नियन्त्रणमा आउने दावी गरे ।
उनले निजी तथा सरकारी क्षेत्रबाट संचालित कुनै पनि विकास आयोजनामा अनियमितता गरिएको पाइए जो सुकैलाई पनि कडा कारबाही गरिने ठोकुवा गरे । उनले भने, “कर्मचारी होस् वा राजनीतिज्ञ नै, विकास आयोजनामा अनियमितता गर्नेलाई कडा कारबाही हुन्छ ।”
उनले स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना र सार्वजनिक चासोका विषयमा स्थानीय प्रशासन र प्रहरीले नियमित अनुगमन गर्नुपर्ने सुझाव दिए । उनले भने, “आठ जिल्लामा नाम मात्रका झोले विद्यालय सञ्चालन भइरहेको बारे जनगुनासो बढेकाले आयोगले टोली खटाएर अनुसन्धान गरिरहेको छ ।”
