समाचारबुधबार, पौष २४, २०७०

जीएमओ बिउ तथा आयातमा रोक

हिमालखबर

सर्वोच्चका न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले २४ पुसमा मोन्सान्टोलगायतका कम्पनीले उत्पादन गरेको जीएमओ बिउबिजन तत्काल बिक्री नगर्न तथा आयात रोक्न आदेश दिएको छ । मोन्सान्टोले उत्पादन गरेको बिउबिजन आयात रोक्नुपर्ने भन्दै अधिवक्ता अर्जुनकुमार अर्यालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै इजलासले आदेश दिएको हो ।

अर्यालले दायर गरेको रिटमा मोन्सान्टोलगायत कम्पनीका बिउबिजन एकपटक प्रयोग गरेपछि त्यसबाट बिउ उत्पादन गर्न नसकिने र वातावरणमा समेत असर पार्ने भएकाले तत्काल रोक लगाउन माग गरिएको थियो।

सर्वोच्चले विपक्षीहरूलाई यस्ता बिउबिजन बिक्रीवितरण र आयात हुनुको कारण महान्यायाधीवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित रूपमा पेस गर्नसमेत भनेको छ। यस्ता बिउले पार्ने असर र कुन निकायबाट बिक्री बितरण भइरहेको हो सोबारे जवाफ पेस गर्न कृषि तथा सहकारी मन्त्रालय, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

रिटमा बिउबिजन खरिदमा सधैं विदेशी कम्पनीको भर पर्नुपर्ने, करोडौं रुपैयाँ बिउबिजनमा खर्च हुने तथा बिउमाथि किसानको अधिकारसमेत समाप्त हुने दाबी गरिएको छ। जीएमओ फुड प्रयोगले पशुसँगै मानिसमा समेत गम्भीर समस्या निम्तने र स्थानीय बिउको अन्त्य हुने भएकाले तत्काल अन्तरिम आदेशको माग गरिएको थियो।

विश्वका १२० देशमा मोसान्टो कम्पनीलाई प्रतिबन्ध लगाएकाले नेपालमा समेत रोक लगाउनुपर्ने जिकिर निवेदनमा गरिएको थियो। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि तथा सहकारी मन्त्रालय, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र र मोन्सोन्टो कम्पनीसमेतलाई विपक्षी बनाइएको थियो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>