समाचारशुक्रबार, पौष २६, २०७०
एमालेसँग मिलेर सरकार बनाउँछौं: महत
कांग्रेस नेता महतले कांग्रेस र एमालेबीच धेरै एजेण्डा मिल्ने भएकाले मिलेर सरकार गठन गर्ने बताएका हुन् । रिपोर्टर्स क्लबले राजधानीमा २६ पुसमा गरेको कार्यक्रममा उनले कांग्रेस र एमालेका शीर्ष नेताहरुले सरकार गठनको गृहकार्य शुरु गरेको पनि दाबी गरे ।
उनले कांग्रेसभित्र प्रधानमन्त्रीका लागि योग्य धेरै नेता भए पनि सहमतिकै आधारमा उम्मेदवार तय गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामी सभापति सुशिल कोइरालाकै नेतृत्वमा संविधानसभा चुनावमा गयौं, त्यसैले उहाँ नै प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।”
महतले प्रधानमन्त्री चयनका लागि कांग्रेसले विवाद नगर्ने बताए । उनले सर्वसम्मतले प्रधानमन्त्री छान्ने पनि ठोकुवा गरे ।
कार्यक्रममा नेकपा एमालेका सचिव युवराज ज्ञवालीले सरकार गठनका लागि कांग्रेसले शक्ति बाँडफाँडसहितको योजना ल्याउनुपर्नेमा जोड दिए । उनले सरकारमा कांग्रेस र एमालेको समान हैसियत हुनुपर्ने बताए ।
उनले भने, “सरकार गठन गर्न नसकेर कांग्रेसले आग्रह गर्छ भने एमालेले तत्कालै सरकार गठनको योजना ल्याउँछ ।”
