समाचारशुक्रबार, पौष २६, २०७०
संविधानसभा बैठक बोलाउने विषयमा मध्यमार्गी प्रयास जारी
संविधानसभा बैठक बोलाउने विषयमा शितल निवासमा २६ पुस राती अबेरसम्म छलफल जारी रहेको छ । अपरान्ह चार बजेदेखि नै दुई पक्षीय छलफल जारी रहेको हो ।
गृहमन्त्री माधव घिमिरे अपरान्हदेखि नै सहमति प्रयास जारी राखेको स्रोतले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिको ठोस जवाफको पर्खाइमा रहेको स्रोतको भनाई छ । स्रोतका अनुसार मध्यमार्गी उपाय अपनाउने विषयमा छलफल जारी छ ।
बैठक बोलाउने विषयमा आलोचना खेप्नु परेपछि राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेका हुन् । संविधानसभाको पहिलो बैठक कसले बोलाउने भनेर परेको दुई रिटमाथि २९ पुसमा संयुक्त रुपमा सुनुवाई हुँदैछ ।
राष्ट्रपतिले नै संविधानसभाको पहिलो बैठक बोलाउनुपर्छ भन्दै सर्वोच्च अदालतमा डेमोक्रेटिक लयर्स एशोसिएसनले हालेको मुद्दाको सुनुवाई पुस २४ गते नै तोकिएको थियो । तर, मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले नै पहिलो बैठक बोलाउनुपर्ने माग गर्दै सर्वोच्चमा अर्को मुद्दा परेपछि सर्वोच्चले दुबै मुद्दाको सुनुवाई पुस २९ गतेलाई तोकेको हो ।
