समाचारशनिबार, पौष २७, २०७०
कठ्यांग्रिएर दुईको मृत्यु
महोत्तरीको ढेकहा गाउँमा चिसोका कारण २६ पुस राती दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय जैसी महतो र ४५ वर्षीया लरुवतीदेवी महतो छन् ।
२६ पुस बिहानैदेखि चलेको चिसो हावाले ल्याएको कठ्याग्रिँदो जाडो सहन नसक्दा राती ओछ्यानमै उनीहरुको मृत्यु भएको स्थानीय विल्टु महतोले बताए । योसँगै एकरहिया–३ मा पर्ने ढेकहा गाउँमा कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या चार पुगेको छ ।
तीन दिनअघि सोही समुदायका ६० वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजै महतोको चिसोले अचानक बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको स्थानीय गणेश महतोले बताए । महोत्तरीमा विगत एक महिनादेखि पश्चिमी हावाका कारण कठ्याग्रिँदो जाडोबाट यहाँका मानिस, पशु, बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित बनाएको छ ।
रासस
