थप समाचारआइतबार, पौष २८, २०७०
कम्प्युटर बिनै कम्प्युटर विषयको पढाइ
जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ हुने कम्प्युटर शिक्षा कम्प्युटर बिना नै पढाइने गरिएको हो । कम्प्युटरसम्बन्धी आधारभूत जानकारी नै नभएका शिक्षकले कम्प्युटरबिना नै किताबको भरमा पढाउने गरेको गुनासो विद्यार्थीले गरेका छन् । सरकारले यसै वर्षदेखि कक्षा ६ देखिको पाठ्यक्रममा ५० पूर्णाङ्कको कम्प्युटर विषय समावेश गरेपछि यस्तो समस्या परेको हो ।
कालिका निम्नमाध्यमिक विद्यालयमा कम्प्युटर बिना नै कम्प्युटर विषयको पढाई शुरु गरिएको छ । प्रधानाध्यापक तिलकबहादुर थापाले भने, “विद्यालयमा न कम्प्युटर सिकेका शिक्षक छन् न कम्प्युटर नै छ । यस्तो अवस्थामा कसरी पढाउने ?”
सरकारले तालिमप्राप्त शिक्षक र पूर्वाधार व्यवस्था नगर्दै पाठ्यक्रममा कम्प्युटर शिक्षा अनिवार्य गरेपछि जाजरकोट लगायतका पहाडी जिल्लाका विद्यालय अप्ठ्यारोमा परेका छन् । यही अप्ठेरोका कारण कतिपय विद्यालयले यो विषय रुटिनमा व्यवस्था गरे पनि पढाउने गरेका छैनन् ।
पिपेको बागेश्वरी निमाविमा कक्षा ६ मा पढ्ने नवीन पुन कम्प्युटर नै नदेखेको बताउँछन् । रिसाङको त्रिभुवन निमाविकी सविता वलीले पनि अहिलेसम्म कम्प्युटर देखेकी छैनन् । “सरले मौखिकरूपमा पढाउनुहुन्छ, तर कम्प्युटर नहुँदा कस्तो हुन्छ देख्न पाएको छैन,” उनले भनिन् ।
जाजरकोटमा ६ कक्षामा पढ्ने करिब सात हजार विद्यार्थी छन् । उनीहरूको वार्षिक परीक्षा आउन दुई महिना मात्र बाँकी छ ।
“विद्यार्थीले यतिबेलासम्म कम्प्युटर देखेका छैनन् न त पढाइ नै भएको छ, कसरी परीक्षा लिने हो ?” बागेश्वरी निमावि पिपेका शिक्षक कालिका शाहले भने । आवश्यक तयारीबिना नै यो विषय थप्दा जाजरकोटमा पूरै पढाइ खाली भएको छ ।
जिल्ला शिक्षा अधिकारी गीरमान थापा भने कम्प्युटर शिक्षकका लागि एक महिनाभित्रै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताए । जिल्लाका प्रायः सबै विद्यालयमा विद्युत् सुविधा नहु“दा कम्प्युटर पु¥याउन नसकिएको उनको भनाइ छ ।
रासस
