समाचारमंगलबार, पौष ३०, २०७०
डिनबाट हटाइए प्राध्यापकबाटै राजीनामा दिने शर्माको धम्की
डिन नियुक्तिको बिरोध गर्दै प्रा. डा. गोविन्द केसी आमरण बसिरहेको बेला नवनियुक्त डिन शशी शर्माले आफूलाई हटाइए प्राध्यापक पदबाटै राजीनामा दिने धम्की दिएका छन् । राजधानीमा ३० पुसमा भएको कार्यक्रममा उनले प्रा. डा. केसी नियोजितढंगले अनसनमा बसेको आरोप समेत लगाए ।
“म २८ वर्षदेखि कार्यरत छु, मैले सात वर्षदेखि हेड अफ द डिपार्टमेन्ट सम्हाल्दै आएको पनि छु, म डिनका लागि एकदमै योग्य छु, ” उनले भने, “यदि मलाई काम गर्न दिइएन भने प्राध्यापक पदबाट पनि राजीनामा दिन्छु ।”
उनले तीन महीना परीक्षणकालसमेत भएकाले काम गर्न वातावरण बनाइदिन आग्रह गरे । उनले भने, “यदि तीन महीनामामा पनि काम गर्न सकिन भने मेरो पदीय जिम्मेवारीप्रति प्रश्न उठाए हुन्छ ।” उनले त्रिविको नियमअनुसार नै आफू चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त भएको पनि जिकिर गरे ।
उनले अनसन तोडेर आफूलाई काम गर्ने वातावरण बनाइदिन अनसनरत केसीसँग आग्रह गरेका छन् । केसीले अघि सारेका सातबुँदे माग तत्कालै संबोधन हुन नसक्ने पनि जिकिर गरेका शर्माले ती मागहरु संस्थागत विकासका हिसाबले भने स्वागतयोग्य भएको बताएका थिए ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक हस्तक्षेप बन्द हुनु पर्ने, पदाधिकारी नियुक्तिका लागि निश्चित मापदण्ड बनाइनु पर्ने लगायतका माग राख्दै प्रा केसी २७ पुसदेखि अनशनमा छन् । यसअघि पनि डिन नियुक्तिमा भएको चलखेल विरुद्ध केसी अनसन बसेका थिए ।
