थप समाचारशुक्रबार, माघ ३, २०७०

बेल्जियममा भीड

हिमालखबर

– सन्तोष न्यौपाने, बेल्जियम

माथिका तीन पात्र सक्कली हुन्, तर उनीहरूको कथा नक्कली। नेकपा एमालेका मतदाता गोविन्द खासमा पहिलो संविधानसभा निर्वाचनमा ठूलो दल भएपछि माओवादीतिरै लागेका थिए। साथीभाइमा चलेको विदेश जाने लहडमा उनी नेपालबाट पोल्याण्ड र त्यसपछि बेल्जियम छिरे। यहाँ आएपछि शरणार्थी ‘केस’ अगाडि बढाउन कथा सुहाउँदो कागजात मगाए, नेपालबाट।

राप्रपाका समर्थक अमर थापाका आफन्तहरूलाई राजावादी भन्दै माओवादीले दुःख दिएको चाहिं हो। गाडी चालक उनले बेल्जियममा शरणार्थीको हैसियत पाउन आफन्तको दुःखलाई आफ्नै कथा बनाइदिए। यसैगरी, काठमाडौंकी सरिता सन् २००९ मा ‘केयर गिभर’ को रूपमा इजरायल आएको तीन वर्षमा दलालको सहयोगमा बेल्जियम छिरेकी हुन्।

कथा अनुसार कागज
शरणार्थी बनेर बेल्जियम लगायत यूरोपका अरू पनि मुलुकमा बस्न झूटको सहारा लिने नेपालीको संख्या ठूलो छ। माओवादीको सशस्त्र द्वन्द्वकालमा बढेको यो क्रम अझै रोकिएको छैन। यहाँ शरणार्थी हुन आफूलाई राजावादी र बलात्कारको शिकार भएको भन्नेसम्मको कथा बनाइन्छ। यस्ता कथा रचेर यहाँ बस्न शुरु गरिने कागजी प्रक्रियालाई ‘केस गर्ने’ भनिन्छ।

समस्या भए पनि बेल्जियमका नेपालीको सामूहिक घुमाइले प्रवासमा दुख विसाउने काम गरेको छ ।

‘केस गर्ने’ क्रममा शरणार्थी अपील गर्दा आफूलाई ल्याउने दलाल वा परिचितहरूकोमा पासपोर्ट छाडेर कथा सुहाउँदो नक्कली कागजातहरू पेश गरिन्छ। बेल्जियममा ‘फेडासिल’ ले निवेदकको पिंकगर प्रिन्ट लिनुको साथै आएको फ्लाइट रुट, उमेर र नेपालको ठेगाना सोधेर रेडक्रस क्याम्पमा पठाइदिन्छ। दर्ता भएका निवेदकको ६ महीनासम्मको सम्पूर्ण जिम्मा सरकारले लिन्छ। दर्ता भएको दुई–तीन सातामा शरणार्थी बन्नुपर्ने कारणहरू सोधिंदा दयालाग्दो कथाहरू सुनाइन्छ।

पछिल्लो समयमा लाखौं खर्चेर ‘वर्किङ भिसा’ मा पोल्याण्ड आई त्यहाँबाट दलाल मार्फत बेल्जियम, स्पेन र पोर्चुगल पस्ने गरिन्छ। पोल्याण्डमा आप्रवासी कामदारहरूले ८ देखि १० महीनाभित्र ‘टेम्पोररी रेसिडेन्स कार्ड (टीआरसी)’ पाउँछन्। केही महीनाअघि बेल्जियम आएका कपिलवस्तुका अनोजकुमार पुनका अनुसार, पोल्याण्डको टीआरसी हुनेहरू बस वा विमानबाट सहजै बेल्जियम पस्छन्। कार्ड नहुनेहरू दलाललाई ५०० युरो (रु.६८ हजार) देखि १००० युरोसम्म बुझाएर पोल्याण्डको सीमा काट्छन्।

शरणार्थी अपील गरेर बसेका प्यूठानका मीनबहादुर थापा (२७) ले ‘पैसा कमाउन यो सब गर्नुपरेको’ बताए। उनी आफ्नै जिल्लाका विष्णु थापाको विश्वासमा पोल्याण्ड र कृष्ण सुवेदी नामका अर्का दलालको सहयोगमा बेल्जियम आएका हुन्। “पोल्याण्डको सीमा काटेको रात ट्रेन स्टेशनमै काटियो”, मीनबहादुरले भने, “अनि केही नेपालीको सहायताबाट केस गर्ने ठाउँसम्म पुगियो।”

चार महीनादेखि बेल्जियममा रहेका कञ्चनपुरका गोपाल चन्द, शरणार्थी बनेर यहाँ बस्नु सुरक्षा र सुविधाको हिसाबले सहज भए पनि ढाँटेर बस्दा आफैंलाई ग्लानि भएको बताउँछन्। तर, ढाँटेरै बेल्जियम बसेकामा नेपालमा बेरोजगार रहेका युवा मात्र नभई राज्यले लगानी गरेको सेना, प्रहरी, शिक्षक र निजामती सेवाका कर्मचारी पनि छन्। तीमध्ये धेरैजसो सन्तानको भविष्यका लागि यो सब गर्नुपरेको बताउँछन्।

मावि तहका शिक्षक रहेका पर्वतका इन्द्र पौडेलले माओवादीबाट माइला भाइ मारिएपछि आफू यूरोप भागेको बताए। उनका अनुसार, नेपाली कांग्रेस समर्थक बाबुलाई अपहरण र भाइको हत्यापछि उनी एक दशकअघि जर्मनीबाट नेदरल्याण्डहुँदै बेल्जियम पसेका हुन्।

नेपालीहरू कुनै कार्यक्रम वा टुरिष्ट भएर बाहेक सीधै बेल्जियम आउन नमिल्ने हुनाले छिमेकी देश भएरै आउँछन्। जेसिसको कार्यक्रमको निहुँ बनाएर जर्मनीहुँदै बेल्जियम आएका पोखराका ओम राउत भन्छन्, “जर्मनीबाट बेल्जियम छिर्न सकिन्छ भन्ने भएपछि रु.६ लाख खर्चेर यता लागेको हुँ।”

नेपालीका लागि पोल्याण्डमा रोजगारी खुल्ला भएपछि यूरोपलाई गन्तव्य बनाउनेहरूको संख्या बढेको छ। तर, काम, दाम र मौसमको हिसाबले पोल्याण्ड कठिन भएकोले प्रायः सबैले बेल्जियमलाई गन्तव्य बनाउँछन्। “पोल्याण्डमा माइनस १२ डिग्रीको चिसोमा समेत आउटडोर काम गर्नुपर्र्छ”, दलाललाई नेपालमै रु.३ लाख बुझाएर पोल्याण्ड आएका दाङका अमृत थापा भन्छन्, “त्यसमाथि पैसा पनि थोरै।”

दलालहरूले पोल्याण्डमा मासिक कम्तीमा रु.४० हजार तलब, ८ घण्टाको काम र चाहेजति ओभरटाइम हुने लोभ देखाउँछन्। तर, १५ घण्टा काम गर्दा मुश्किलले रु.२० हजार जोगाउन सकेको थापाले बताए। पोल्याण्डका रोजगारदाताले दिने मानसिक तनाव झेल्न नसकेपछि बेल्जियम आएको बताउने कमल भन्छन्, “चिसोको काम, त्यसमाथि छिटोछिटो हात चलाउनुपर्छ। फेरि छिसिक्क केही भयो कि साहूले निकाली नै दिन्छ।”

पोलिस दलालहरूले पाउनुपर्ने रकम नपाउँदा पनि पोल्याण्डमा नेपाली कामदारले दुःख पाउने गरेका छन्। पोल्याण्डबाटै बेल्जियम छिरेका टंक पौडेलले पोलिस दलालहरूले पाउनुपर्ने जति रकम नपाउँदा एजेन्ट मार्फत पोल्याण्ड आएका एक दर्जन नेपालीले तीन महीनाको तलब नपाएको बताए।

नेपाली कामदारको पासपोर्ट र स्थानीय बसोबासको कागज दलालले राख्छन्। १३ महीनाअघि बेल्जियम आएका विष्णु तिवारीका अनुसार, त्यस्ता कामदार बँधुवा मजदूर जस्ता हुन पुग्छन्।

स्थायी बसोबासको लोभ

पोल्याण्डमा काम गर्दै नेपाली युवा ।

बेल्जियममा जस्तो ‘केस’ गरिरहनु नपर्ने अस्ट्रिया र पोर्चुगलमा पनि थुप्रै नेपाली शरणार्थी बनेका छन्। नौ वर्ष अगाडि अस्ट्रिया छिरेका मोरङका दीपक मल्लले आफ्नो इलेक्ट्रिक पसलबाट माओवादीले तार, फ्यूज आदि लैजान थालेपछि सेनाको ‘थ्रेट’ मा परेर भागेको बताए। “तर, कागजकै प्रतीक्षामा आधा जीवन बितिसक्यो”, मल्ल भन्छन्, “देश फर्कने ट्राभल डक्यूमेण्ट सजिलै पाइन्छ, तर रित्तोहात फर्कनुपर्ने भएकोले स्थायी बसोबासको पर्खाइमा छु।”

पोर्चुगलको सम्बन्धित निकायमा दर्ता भएपछि फाइनान्स कार्ड पाइन्छ। यस्तो कार्ड पाएको ६ महीनामा स्तरीय कम्पनीमा काम गरेर नियमित कर बुझाए दुई वर्षमा स्थायी बसोबासको अनुमति पाइन्छ। तर, पोर्चुगलमा हम्मेसी काम पाइँदैन, पाउँदा पनि बेल्जियममा हुने आम्दानीको एक चौथाइ कमाउन पनि धेरै खट्नुपर्छ।

पोर्चुगलमा दैनिक १२ घन्टा काम गर्दा मासिक बढीमा ६०० युरो कमाइने भुक्तभोगीहरू बताउँछन्। त्यसमा पनि कोठाभाडा र खानामा मासिक ३०० युरो खर्च हुन्छ। जबकि बेल्जियममा यस्तै काम गर्दा पनि मासिक २००० युरो कमाइ हुन्छ भने खान–बस्न ८०० युरोले पुग्छ।

र पनि, पोर्चुगलमा शरणार्थी दावी गर्ने नेपालीको संख्या बढ्दो छ। ३० महीनाअघि अध्ययनका लागि बेलायत पुगेर विभिन्न देशहुँदै पोर्चुगलको लिस्वन आइपुगेका चितवनका ज्योति पौडेलले काम नपाएर नेपालबाट पैसा मगाउनु परिरहेको बताए। बुटवलका कमल अधिकारी यूरोपको अन्य मुलुकको तुलनामा पोर्चुगलमा सहज तरिकाले कागज बन्ने भएकोले यहाँ धेरै नेपाली आएको बताउँछन्। उनको भनाइमा, यहाँ इजरायल हुँदै आउने नेपाली महिलाको संख्या धेरै छ।

करीब रु.१३ लाख खर्च गरेर गत वर्ष डेनमार्क हुँदै लिस्वन आइपुगेकी चितवनकी कमला पंगेनी बसौं कि नेपाल फर्कौं भन्ने दोधारमा छिन्। नेपालबाट मगाएको थप रु.६ लाख खर्च हुन लागिसक्दा पनि भने जस्तो काम नपाएको उनले बताइन्। उनी यूरोपेली देशमा स्थायी बसोबासको अनुमतिको आशाले यस्तो अनिश्चय झेलेर बसिरहेको बुझन कठिन छैन।

विद्यार्थी पनि शरणार्थी
अध्ययनका लागि यूरोपका विभिन्न देश आएका नेपाली विद्यार्थीहरू पनि महँगो शैक्षिक शुल्क वा अरू समस्यामा परेपछि नक्कली कथा हाल्दै शरणार्थी बनेर बेल्जियम आउँछन्। तिनमा धेरैजसो बेलायतमा नेपालीद्वारा सञ्चालित कलेजहरू बन्द भएर मारमा परेका छन्। केही स्पेन र फ्रान्सका कलेजबाट आएका पनि छन्। उनीहरू दलाललाई ८०० यूरोसम्म खर्चेर ठूल्ठूला मालवाहक ट्रकमा चढेर बेल्जियम आइपुग्छन्।

गत वर्ष बेलायतको कलेज बन्द भएपछि बेल्जियम आएका नवलपरासीका केशव पौडेलले शरणार्थी बन्नै नेपालमा अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) को निशानामा परेको कथा रचेका थिए। यूरोपमा आएका धेरै विद्यार्थी विभिन्न कारणले अप्ठ्यारोमा परेको बताउँदै बेल्जियममा अध्ययनरत चितवनका नारायण रिजाल भन्छन्, “नेपालीलाई सोचे जस्तो छैन, यूरोप।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>