समाचारशनिबार, माघ ४, २०७०
अघिल्लो संविधानसभाका निर्णय मानिदैन: कमल थापा
रिपोर्टर्स क्लबद्वारा ४ माघमा आयोजित कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधानसभाले पूरानो संविधानसभामा भएका निर्णयहरुको स्वामित्व ग्रहण गर्न नहुने बताएका छन् । “पहिलेका निर्णयलाई मान्यता दिने हो भने नयाँ संविधानसभाको निर्वाचन किन चाहियो, ” थापाले भने ।
उनले विगतको संविधानसभाले गरेका निर्णयलाई नयाँ संविधानसभामा लाद्ने ‘धृष्टता’ गरिएमा राप्रपा नेपालले प्रतिवाद गर्ने चेतावनी समेत दिए ।
“अघिल्लो संविधानसभाका निर्णयलाई जबजस्ती लाद्ने प्रयत्न गरिए हाम्रो पार्टीले पहिलो बैठकबाटै प्रतिरोध गर्छ”, थापाले भने, “यो दोस्रो संस्करणको संविधानसभा होइन्, निर्वाचन आयोगकै भाषामा भन्ने हो भने अर्को संविधानसभा भएकोले नयाँ निर्णयबाटै अघि बढ्नुपर्छ ।”
संबिधान बमोजिम मन्त्रीपरिषद्ले मनोनित गर्नु पर्ने २६ जना सभासद्लाई संविबधानसभाको पहिलो बैठक अघि नै मनोनित गरिसक्नुपर्नेमा थापाको जोड थियो । थापाले भने, “२६ जना सभासद् नै मनोनित नगरी संविधानसभाले पूर्णता पाउँदैन, त्यो संविधानबिपरित हुन्छ ।’
उनले अघिल्लो संविधानसभाले निर्वाचित गरेका राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने वताए । ‘
उनले आफूहरु संविधानसभामा चौथो शक्ति भए पनि सरकारमा नगई प्रतिपक्षमा बस्ने भन्दै संविधान निर्माण गर्ने प्रक्रियामा भने सहयोग, समर्थन र सहकार्य गर्न समेत तयार रहेको बताए ।
थापाले अब बन्ने संविधानमा पनि संवैधानिक राजतन्त्र र सनातन हिन्दुराष्ट्रको व्यवस्था गराउन पार्टी क्रियासिल हुने भन्दै उनले राप्रपासँग पार्टी एकता नहुने पनि जानकारी दिए ।
