थप समाचारशनिबार, माघ ४, २०७०
तीनकुनेमा सुविधासम्पन्न पार्क बन्ने
तीनकुनेमा खाली रहेको जग्गामा ड्राइभिङ सिकाउनेहरुले अतिक्रमण र सवारी पार्किङ गरेका कारण समस्या खडा भएको भन्दै महानगरले त्यहाँ पार्क निर्माण गर्न लागेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको उक्त जग्गामा सुविधा सम्पन्न पार्क निर्माण गर्ने र सो पार्कमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको कलात्मक प्रतिमा स्थापना गर्ने कार्ययोजना महानगरले अगाडि सारेको छ ।
पार्क निर्माणका लागि रु पाँच करोड खर्च हुने प्रारम्भिक अनुमान छ । महानगरले तीनकुनेको जग्गा सम्याउन चालु आवमा रु ३० लाख विनियोजन गरेको छ । सो कामका लागि ठेक्का सम्झौतासमेत भइसकेको छ । जग्गा सम्याउने र तारबार लगाउने काम चालु आवको अन्त्यसम्म सम्पन्न हुनेछन् ।
कुल ५३ रोपनी जग्गा भए पनि सडक विस्तार गर्दा धेरैजसो जग्गा सडकमा परेका कारण हाल करिब ३३ रोपनी जग्गा बाँकी रहेको छ । बाँकी रहेको सो स्थानमा बालबच्चाका लागि खेलस्थल, फूल बगैँचा, मध्यमखालका रुख बिरुवा, वाटर फाउन्टेन र दुबोको चौर निर्माण गरिने छ ।
खेर गएको जग्गाको सदुपयोग गर्ने र काठमाडौंमा रहेको पार्कको अभावलाई पनि परिपूर्ति गर्नका लागि पार्क निर्माणको कार्ययोजना अगाडि बढाइएको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले राससलाई जानकारी दिए ।
यस्तै, सो जग्गामा रहेको विवाद तत्काल हल गर्नसमेत महानगरले पहल गर्ने भएको छ । सरकारले विसं २०६२ मै १७ रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । बाँकी जग्गाको मुआब्जा वितरण गर्न रु चार करोड छुट्याइएको छ ।
शहरी विकास मन्त्रालयले सो स्थानमा गणतन्त्र स्मारक बनाउने भनेर प्रस्ताव गरे पनि अन्तर्राष्ट्रिय विमानस्थल नजिक ठूला संरचना निर्माण गर्न नपाइने प्रावधान भएका कारण सो काम अगाडि बढ्न सकेको थिएन ।
रासस
