समाचारशनिबार, माघ ४, २०७०
५ गते कार्यसूचीबारे परमार्श, ६ गते थापाले सपथ लिने
संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीतिक दलहरुसँग बैठकको कार्यसूचिका बारेमा ५ माघमा छलफल गर्ने तयारी भएको संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बताएका छन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ८ माघका लागि संविधानसभाको पहिलो बैठक आह्वान गरेका छन् ।
थापाले सपथ खुवाउने
संविधानसभाको पहिलो बैठक बस्नुअघि सचिवालयले ज्येष्ठ सदस्य सूर्यबहादुर थापालाई राष्ट्रपति डा रामवरण यादवसमक्ष ६ माघमा पद तथा गोपनीयताको सपथ गराउने तयारी गरेको छ ।
अन्तरिम संविधान २०६३ ले संविधानसभाको अध्यक्ष र उपाध्यक्षको चयन हुनुअघि ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता र सञ्चालन गर्ने व्यवस्थाअनुरुप सचिवालयले ज्येष्ठ सदस्य थापालाई सपथ दिलाउने व्यवस्था गरेको हो ।
यस्तै ज्येष्ठ सदस्यकै हैसियतले पूर्वप्रधानमन्त्री थापाले संविधानसभाका अन्य सदस्यलाई नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा ७ माघमा गते सपथ खुवाउने कार्यक्रम तय भइसकेको छ । त्यसका लागि सचिवालयले नागरिकताको प्रमाणपत्र र संविधानसभा सदस्यको प्रमाण खुल्ने प्रमाणपत्रसहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरिसकेको छ ।
स्थानीय वा मातृभाषामा सपथ लिन चाहने सभासद्ले तीन दिन पहिले नै सचिवालयलाई जानकारी गराउनसमेत आग्रह गरिसकिएको छ । संविधानसभामा ३० राजनीतिक दलको सहभागिता छ । गत ४ मंसीरमा सम्पन्न संविधानसभामा प्रत्यक्षतर्फ १३० र समानुपातिकतर्फ १२२ दलले भाग लिएका थिए ।
प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत ११ राजनीतिक दलले संविधानसभामा प्रवेश पाएका छन् । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट १९ गरी कुल ३० राजनीतिक दल यस पटकको संविधानसभामा प्रतिनिधित्व गर्दैछन् ।
प्रत्यक्षतर्फ १०५ र समानुपातिकतर्फ ९१ स्थान प्राप्त गरेको नेपाली काँग्रेसले ठूलोे दलका रुपमा संविधानसभामा १९६ स्थानका साथ प्रवेश गर्ने छ । यस्तै प्रत्यक्ष निर्वाचन प्रणालीमा ९१ र समानुपातिकमा ८४ स्थान प्राप्त गर्ने दोस्रो ठूलो दलका रुपमा नेकपा(एमाले)का १७५ सभासद्ले संविधानसभामा प्रतिनिधित्व गर्ने छन् ।
अपूर्ण संविधानसभा
निर्वाचन आयोगले प्रत्यक्षतर्फका २४० र समानुपातिकतर्फका ३३५ गरी कुल ५७५ जनाको संविधानसभामा सहभागिता हुने सभासद्को अन्तिम नतिजा प्रकाशन गरे पनि मन्त्रिपरिषद्बाट मनोनयन हुने सदस्यको चयन बाँकी नै छ ।
कुल ६०१ सदस्य सङ्ख्या रहेको संविधानसभामा मनोनयन हुन बाँकी २६ का अतिरिक्त प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार जनाले दुई दुई स्थानबाट विजय हासिल गरेकाले रिक्त हुने चार स्थानका लागि पुनः निर्वाचन नभएसम्म संविधानसभाले पूर्णता भने प्राप्त गर्ने छैन ।
नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले २६ सदस्य मनोनयन नगरिए पनि संविधानसभाको बैठक बोलाउन सकिने बताउँदै त्यस सम्बन्धमा कानुनी रुपमा कुनै बाधा नआउने बताए । मैनालीले भने, “निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फका कुल ५७५ स्थानको मात्रै नतिजा प्रकाशन गर्न पाउने तथा २६ का हकमा नयाँ जनादेशप्राप्त सरकारले मात्रै मनोनयन गर्न पाउँछ, वर्तमान सरकारले पाउँदैन ।”
रासस

