समाचारआइतबार, माघ ५, २०७०
‘प्राडा केसीको माग सम्बोधन गर’
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष प्राध्यापक वासुदेव घिमिरेले आमरण अनशनरत् प्राडा गोविन्द केसीले उठाएका सार्वजनिक चासोका मागलाई अविलम्ब सम्बोधन गरी केसीको जीवनरक्षा गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
संघद्वरा जारी विज्ञप्तिमा भनिएको छ, “एउटै विषयमा बारम्बार एउटै व्यक्तिले सङ्घर्ष गरिरहनुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुनुले सम्पूर्ण प्राध्यापकवर्गलाई लज्जित तुल्याएको छ ।”
“त्रिभुवन विश्वविद्यालयको अखण्डता र गरिमालाई बचाउन अपरिहार्य भएको छ, मेडिकल कलेजहरूको विषयलाई लिएर विश्वविद्यालयकै प्रतिष्ठामा दाग लाग्नेसम्मका जेजस्ता विवादास्पद विषय सार्वजनिक भएका छन् त्यस सम्बन्धमा सम्बन्धित पक्षबाट सत्यतथ्य बाहिर ल्याउन हाम्रो जोड्दार माग छ,” विज्ञप्तिमा भनिएको छ ।
चिकित्सा शास्त्र अध्ययन संस्थानमा नवनियुक्त डिनलाई हटाउनु पर्ने लगायतका ७ बुँदे माग राखेर बरिष्ठ चिकित्सक केसी २७ पुसदेखि आमरण अनशनमा छन् भने उनको समर्थनमा देशभरका चिकित्सक आन्दोलित भएका छन् ।
