थप समाचारआइतबार, माघ ५, २०७०
बस लुट्ने मुख्य योजनाकार पक्राउ
सर्लाही र महोत्तरीको सीमास्थित जंगलमा ३० पुस बिहान यात्रुबाहक बस लुट्ने मुख्य योजनाकार २६ वर्षीय मदन भनिने घनश्याम गिरीलाई महोत्तरीले पक्राउ गरेको छ ।
बस लुटेपछि फरार भएका महोत्तरी हातिलेट–२ बस्ने घनश्याम गिरीलाई ४ माघ राति ७ बजे बर्दिबासमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेका गिरी लुटपाट गर्न सिपालु रहेको र यसअघि २०६८ सालमा महोत्तरीमा एक ट्रक ड्राइभरलाई अपहरण गरी उनैले ट्रक लुटेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा लुटको योजना बनाइ काठमाडौंबाट सिन्धुलीको दुधौलीका लागि हिँडेको ना.४ख. १५०१ नम्बरको बसमा २९ पुस राति यात्रु बनेर चढेका गिरीसहितको टोलीले बसलाई ३० पुस बिहान ४ बजे सर्लाही र महोत्तरीको जङ्गल क्षेत्रमा हतियार देखाउँदै बस नियन्त्रणमा लिएर नगद, गरगहना, मोबाइल, टीभी लगायतका सरसामान गरी रु ६ लाखभन्दा बढीको लुटपाट गरेको थियो ।
लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । घटनामा संलग्न अन्य तीन जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको बताइएको छ ।
यात्रु बनेर बस लुट्ने पाँच पक्राउ

