थप समाचारआइतबार, माघ ५, २०७०

‘राष्ट्रपतिको निर्वाचनबारे एउटै धारणा बनाऊ’

हिमालखबर

५ माघ विहान कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शीतल निवास बोलाएर राष्ट्रपति रामवरण यादवले राष्ट्रपति पद र त्यसको कार्यकालबारे दलपिच्छे फरक धारणाहरु आउँदा नराम्रो सन्देश जाने भन्दै एउटै धारणा बनाउन भनेका छन्।

दलहरुको निर्णय आफूलाई मान्य हुने भन्दै आफ्नो कार्यकाल कहिलेसम्म रहने भन्ने बारे दलहरुले साझा धारणा बनाउन नसक्दा सडकमा राष्ट्रपति पदको गरिमामा नै प्रश्न उठ्ने गरी टिकाटिप्पणी भइरहेको राष्ट्रपति यादवले गुनासो गरेका थिए ।

यादवले राष्ट्रपति पद देशकै गरिमामय संस्था भएकोले त्यसबारे सडकमा टिकाटिप्पणी गर्नु राम्रो नहुने बताएकोे भेटपछि एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।

जवाफमा प्रमुख तीन दलका शीर्ष नेताले आफूहरु एउटै धारणा बनाउन प्रयासरत रहेको बताएका छन् ।

दोस्रो पटक संविधानसभाको निर्वाचन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि नयाँ निर्वाचन गर्ने वा नगर्ने भन्नेबारे दलहरुबीच मतान्तर भएकाबेला कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिलाई भेटेका हुन् ।

‘संसद बैठक चाँडै बोलाउ’

राष्ट्रपति यादवले नेताहरुलाई ब्यवस्थापिका संसदको बैठक चाँडै  बोलाएर सरकार गठन गर्न पनि दलहरुलाई आग्रह गरेका छन् ।

एक वर्षभित्रै संविधान बनाउने र मुलुकलाई राजनीतिक अन्यौलबाट चाँडै निकास दिने दलहरुको प्रतिवद्धता स्मरण गराउँदै यादवले चाँडै सरकार गठन गर्न आग्रह गरेको अध्यक्ष खनालले बताए ।

संविधानमा व्यवस्था भए अनुसार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले ८ माघका लागि संविधानसभाको बैठक आह्वान गरिसकेका छन् । तर, व्यवस्थापिका संसदको बैठक राष्ट्रपतिले बोलाउने प्रावधान अनुसार मन्त्रिपरिषदले अहिलेसम्म राष्ट्रपतिसमक्ष सिफारिस गरेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>