थप समाचारसोमबार, माघ ६, २०७०
‘प्राडा केसीलाई जुनसुकै समयमा जे पनि हुनसक्छ’
सातबुँदे माग राख्दै आमरण अनशनमा बसेका प्राडा केसीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’ भएको चिकित्सकले बताएका छन् । उपचारमा संलग्न चिकित्सक प्राडा सुभास आचार्यले केसीलाई ‘जुनसुकै समयमा जे पनि हुनसक्ने’ बताए ।
केसीलाई अक्सिजन र स्ल्याइनले मात्र बचाइराखेको चिकित्सकको भनाइ छ । “उहाँ कम बोल्न थाल्नुभएको छ, रगतमा अक्सिजनको मात्रा कम, मुटुको धड्कन बढ्दो र पिसाब पनि अति कम भएको छ,” प्राडा आचार्यले भने, “हामीले हरपल उहाँको रक्तचापलगायत अन्य अवस्थाको परीक्षण गरिराखेका छौँ ।”
त्रिवि कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा शशी शर्मालाई नियुक्ति गरेपछि समग्र स्वास्थ्य संस्था तथा शिक्षण अस्पतालमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेलगायतका माग राख्दै केसी अनशनरत छन् । २७ पुसदेखि केसी अनशन बस्दैआएका छन् ।
केसीको अनशनप्रति समर्थन जनाउँदै शिक्षण अस्पतालमा कार्यरत चिकित्सक, परिचारिका, प्राविधिक तथा कर्मचारीले आकस्मिक तथा अन्तरङ्ग सेवासमेत बन्द गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा ५ माघदेखि सबै स्वास्थ्य संस्थाका बहिरङ्ग सेवा ठप्प छन् ।
रासस
