थप समाचारशुक्रबार, माघ १०, २०७०

केसीको सर्वोच्चलाई अाग्रह: अभियानमा सहयोग गर

हिमालखबर

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेपको अन्त्यलगायतका ७ बुँदे माग राखी १४ दिन अनशन गरेका चिकित्सक गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालाई उत्कृष्ट चिकित्सकीय शैक्षिक संस्थाका रुपमा थप विकास गर्ने अभियानमा सहयोग गर्न सर्वाेच्च अदालतलाई आग्रह गरेका छन् ।

आफ्नो ७ बुँदे माग पूरा हुने सरकारी प्रतिवद्धतापछि १४ दिन लामो अनशन तोडेका केसीले भनेका छन्, “अथक प्रयासपछि ठूलो उपलब्धि प्राप्त हुन लागेको छ, यसलाई कुण्ठित गर्न नदिन म सर्वाेच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, रजिष्ट्रार तथा सबै कर्मचारीहरूलाई आग्रह गर्दछु ।”

“मेरो यो अनशन कुनै व्यक्ति विशेषका लागि थिएन, उत्कृष्ट पद्धति विकासका लागि थियो,” केसीले भने, “त्यसैले म यसलाई क्षणिक हुन दिन्न, यो अभियानमा न्यायालयको पनि सहयोग हुने नै छ ।”

केसीको समर्थनमा चिकित्सकसम्बन्धी विभिन्न संघसंस्थाहरुले गरेको आन्दोलन बन्द गर्न सर्वोच्चले दिएको आदेश र केसीकै माग अनुसार त्रिवि कार्यकारी परिषदले बर्खास्त गरेका डिन शशी शर्मा आफ्नो पुनर्वहालीका लागि अदालत जाने चर्चा चलेका बेला केसीले सर्वोच्चसँग यस्तो आग्रह गरेका हुन् ।

समग्र स्वास्थ्य सेवाका सुधार, त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थानका डीन नियुक्ति रद्द, नयाँ चिकित्सा कलेजलाई सम्बन्धनमा रोक, अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डीनको नियुक्ति लगायतका माग राखी डा. केसी आफूले अध्यापन गर्दै आएको शिक्षण अस्पतालमा पुस २७ गते बिहानदेखि अनशनमा बसेका थिए ।

अनशनको अन्त्यसंगै डा. केसीलाई अस्पतालकै सघन उपचार कक्षमा भर्ना गरिएको छ । “लामो समय शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व उहाँको शरीरमा नभएका कारण एक हप्ता उहाँलाई उपचार गर्नुपर्छ” डा. केसीको उपचारमा संलग्न प्रा. डा. सुवास आचार्यले जानकारी दिए ।

अनशन अन्त्य गर्ने विषयमा डा. केसी, सरकारी वार्ता टोली र नेपाल मेडिकल एसोसिएसनबीच सात सूत्रीय सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>