थप समाचारशुक्रबार, माघ १०, २०७०
‘कांग्रेस नेतृत्वमा सर्वदलीय सरकार’
संविधानसभा निर्वाचन सकिएको दुई महीना बित्दा पनि कसको नेतृत्वमा सरकार बनाउने भन्ने निर्णयमा दलहरू पुगिसकेका छैनन् । हिमाल ले देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणले कांग्रेस नेतृत्वमा सर्वदलीय सरकार हुनुपर्ने देखाएको छ । ‘अबको सरकार कसको नेतृत्वमा कस्तो बन्नुपर्ला ?’ भन्ने प्रश्नमा ५७.६ प्रतिशतले ‘नेपाली कांग्रेसको नेतृत्वमा सर्वदलीय सरकार’ हुनुपर्ने विचार राखे । २१.३ प्रतिशतले ‘कांग्रेसको नेतृत्वमा एमाले मात्र सहभागी रहेको’ सरकार बन्नुपर्ने बताए भने ७.८ प्रतिशतले ‘एमाले प्रतिपक्षमा रहने गरी कांग्रेसको नेतृत्वमा अरू दल सहभागी रहेको’ सरकार बन्नुपर्ने जवाफ दिए । ३ प्रतिशत उत्तरदाताले भने ‘एमाले सरकारमा नजाने गरी बाहिरी सहयोगमा कांग्रेस नेतृत्वको सरकारको विकल्प रोजे । १० प्रतिशत उत्तरदाताले ‘थाहा छैन’ र ०.३ प्रतिशतले ‘भन्न चाहन्न’ भन्ने जवाफ दिए ।
‘कांग्रेसको नेतृत्वमा सर्वदलीय सरकार बन्नुपर्ने’ विचार राख्नेमध्ये सबैभन्दा धेरै मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका ६४ प्रतिशत छन् । त्यसैगरी, मध्यमाञ्चलका ६१.५, पूर्वाञ्चलका ४९.३ र पश्चिमाञ्चलका ४८ प्रतिशतले पनि कांग्रेस नेतृत्वमा सर्वदलीय सरकार बन्नुपर्ने विचार राखे । कांग्रेसको नेतृत्वमा एमाले मात्र सहभागी रहेको सरकार बन्नुपर्ने उत्तर दिनेमा सबैभन्दा धेरै सुदूरपश्चिमाञ्चलका ३६ प्रतिशत छन् । कांग्रेसको नेतृत्वमा एमाले मात्र सहभागी रहेको सरकार बन्नुपर्ने उत्तर दिनेमा स्नातकोत्तर तह अध्ययन गरेका ३८.१, स्नातक तह पढेका २७.५, प्रमाणपत्र तह पढेका २२.२ र एसएलसीसम्म पढेका २०.३ प्रतिशत छन् । शतप्रतिशत मधेशी दलित, ७७.८ प्रतिशत मुस्लिम, ६३.२ प्रतिशत नेवार तथा ६३.८ प्रतिशत पहाडी जनजातिले कांग्रेस नेतृत्वमा सर्वदलीय सरकार बन्नुपर्ने उत्तर दिए ।
नयाँ सरकारको नेतृत्वका लागि कांग्रेसका शीर्ष तीन नेतृत्वबीच रस्साकस्सी चलिरहेको छ । ‘कांग्रेसका कुन नेताको नेतृत्वमा सरकार बन्नु उपयुक्त होला ?’ भनेर सोधिएको प्रश्नमा बहुसंख्यक ५६ प्रतिशतले सुशील कोइरालालाई रोजे । १७.२ प्रतिशतले शेरबहादुर देउवा र ९.४ प्रतिशतले रामचन्द्र पौडेलको नेतृत्वमा सरकार बन्नुपर्ने बताए । ११.९ प्रतिशतले थाहा छैन र २.२ प्रतिशतले भन्न चाहन्न भन्ने जवाफ दिए । ३.३ प्रतिशतले ‘अन्य’ नेताको नेतृत्वमा सरकार बन्नुपर्ने विचार राखे ।
कोइरालालाई रोज्नेमध्ये सबैभन्दा धेरै १८–२४ वर्ष समूहका ६५.८ प्रतिशत छन् । देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने विचार राख्नेमा सबैभन्दा धेरै २५–३९ वर्ष समूहका २०.६ प्रतिशत छन् । स्नातकोत्तर तह वा सोभन्दा माथि पढेका ४२.९ प्रतिशतले कोइराला, २३.८ प्रतिशतले देउवा र १४.३ प्रतिशतले पौडेललाई प्रधानमन्त्री बनाउनुपर्ने उत्तर दिए । शतप्रतिशत मधेशी दलित, दुईतिहाइ मधेशी जनजाति, ६६.७ प्रतिशत मुस्लिम, ६२.५ प्रतिशत पहाडी दलित, ५८.६ प्रतिशत पहाडी जनजाति, ५५.३ प्रतिशत नेवार, ५४.१ प्रतिशत मधेशी र ५२.७ प्रतिशत पहाडीले कोइरालाको नेतृत्वमा सरकार बन्नुपर्ने उत्तर दिए ।
कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा विवाद देखिएका कारण नेतृत्वमा भागबण्डाको बहस चलिरहेको छ । सहमति हुन नसकेपछि मतदानद्वारा संसदीय दलको नेता छान्ने सम्भावना देखिएको छ । ‘कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा विवाद देखिएको छ । तपाईंको विचारमा यो विवाद कसरी छिनोफानो गर्नुपर्ला ?’ भनेर सोधिएको प्रश्नमा ६४.५ प्रतिशतले ‘नेताहरूबीचको सहमतिबाट’ विवादको छिनोफानो गर्नुपर्ने उत्तर दिए भने २३.५ प्रतिशतले ‘संसदीय दलमा निर्वाचन गरेर’ । ११.१ प्रतिशतले थाहा छैन तथा ०.८ प्रतिशतले भन्न चाहन्न भन्ने जवाफ दिए ।
तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वैक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ ।
-सम्पादक
साप्ताहिक खबरपत्रिका हिमालबाट

