समाचारआइतबार, माघ १२, २०७०

संसदको पहिलो बैठक शुरु, रेग्मीले सम्बोधन गरे

हिमालखबर

दोस्रो संविधानसभा चुनाव भएको दुई महिनापछि संसदको पहिलो अधिवेशन १२ माघ दिउँसो ३ बजेबाट शुरु भएको छ ।

यो अधिवेशनले नयाँ सरकार निर्माण गर्नेदेखि संसद नहुँदा जारी भएका अध्यादेशहरु पारित गरिने संसद सचिवालयले जनाएको छ।

शहीदहरु प्रति श्रद्धाञ्जली दिएर दिउँसो तीन बजे शुरु भएको  संसदको पहिलो बैठकमा बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य सूर्यबहादुर थापाले राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएका  छन् भने मन्त्रिपरिषद् अध्यक्षले बैठकलाई सम्बोधन गरेका छन् । उनले ब्यवस्थापिका संसदको बैठक बसेसँगै नयाँ सरकार गठन र संविधान निर्माणको ढोका खुलेको बताए ।

दोस्रो संविधानसभा निर्वाचन गराउन अघिल्लो वर्ष प्रधानन्यायधीश नेतृत्वमा सरकार बनाउँदा जारी गरिएको बाधा अडकाउ फुकाउ आदेश अनुमोदन गराउने प्रकिया पनि पहिलो बैठकबाट शुरु हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताएका छन्।

“नेपाल सरकारको तर्फबाट बाधा अडकाउ सम्बन्धी आदेश प्रस्तुत गर्ने, अर्को व्यवस्था नभएसम्म विद्यमान नियमावली अनुसार नै कार्यसञ्चालन गर्ने र संसदमा रहेका सबै दलका एक-एक जनाले मन्तव्य दिने कार्यक्रम पहिलो बैठकका लागि तय भएको छ,” उनले भने।

संसदको पहिलो बैठक बसेको एक महिना भित्र सो बाधा अडकाउ फुकाउ आदेश अनुमोदन गराउनुपर्ने संवैधानिक व्यवस्था छ।

पहिलो संविधानसभा विघटन भएपछि सरकारले जारी गरेका दुई दर्जन अध्यादेशहरु संसदको आगामी बैठकहरुमा अनुमोदनका लागि संसदमा प्रस्तुत गरिने प्रवक्ता शर्माले बताए।

नयां सरकार
संसदको अधिवेशन नबस्दा नयाँ सरकार बनाउने प्रकृया समेत शुरु हुन सकेको थिएन।

अधिवेशनको शुरुवातसँगै अब राष्ट्रपतिले सहमतिको सरकार बनाउन दलहरुलाई आह्वान गर्ने छन् र सहमतिको सरकार बनाउन दलहरु असफल भए बहुमतका आधारमा संसदबाट प्रधानमन्त्री चुन्नु पर्नेछ।

प्रधानमन्त्रीको चयन र नयाँ सरकार गठनसँगै अहिले पूर्व प्रशासकहरुबाट सञ्चालन हुँदै आएको सरकारको विधिवत बिदाइ हुनेछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>