समाचारशनिबार, साउन २०, २०६९

देशका विभिन्न स्थानमा बाढी-पहिरो, १० को मृत्यु, सयौं घर डुबानमा

हिमालखबर

दाङको राप्ती नदीमा आएको बाढीपछिको डुबान।

दाङको राप्ती नदीमा आएको बाढीबाट उद्धारमा खटिएका एक हवल्दारसहित तीन व्यक्तिको मृत्यु भएको छ । सतवरिया गाविस वनघुस्री नजिक बगाएका व्यक्तिहरुको उद्धार गर्न खटिएका ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका हवल्दार रामबहादुर रानाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिसहनिया गाविस–४ की ४५ वर्षीया खैरु निसाद र गोवडिया गाविस निवासी ज्ञानबहादुर पुन भएको प्रहरीले जनाएको छ । अविरल वर्षाले देउखुरी क्षेत्र आसपासका करिब एक दर्जन गाविस डुवानमा परेको बताइएको छ ।

बाजुराको स्थानीय बड्डीगाड खोलामा बगेर बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने कोल्टी गाविसमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँधु–१ पाँडी घर भई कोल्टीमा व्यापार गर्दै आएका करिब ४० वर्षका दलचन्द्र साउद र ३५ वर्षका प्रेमलाल साउद रहेको विमानस्थल सुरक्षागार्ड कोल्टीले जनाएको छ । उनीहरु दुवैजनाको बाढीले बगाएर ल्याएको दाउरा उतार्न जानेक्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

त्यस्तै लगातारको वर्षापछि बागलुङ नगरपालिका–९ लम्गाउँको खोल्सामा आएको बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । सदरमुकाम बागलुङ बजारबाट बानपा–९ लम्गाउँमा रहेको आफ्नै घर हिडेकी ४१ वर्षीय दिलकुमारी थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, गुल्मी, ठूलोलुम्पेक गाविस–२ ढुङ्गाचाल्ने निवासी घनश्याम विकको घरको माथिबाट पहिरो जाँदा विकका श्रीमती र छोराछोरी गरी चार जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। १८ साउनदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट गएको पहिराले पुरेर घनश्यामकी ३९ वर्षीया श्रीमती भूमि , १३ वर्षका छोरा सन्तबहादुर तथा छोरीहरु नौ वर्षीया मुना र पाँच वर्षकी विपनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, लगातारको वर्षाका कारण कैलालीको टीकापुर नगरपालिकास्थित मुक्त कमैया शिविरका ३० घर डुबानमा परेका छन् । डुबानका कारण बिचल्लीमा परेका घर परिवारलाई नजिकको विद्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

एता मनाङ्ग जिल्लाको ताल गाविसको खहरे खोलामा आएको बाढीको कारण जोखिममा परेका १५० स्थानीयबासीलाई नेपाली सेनाको फौजले उद्धार गरी सुरक्षावेसमा लगेर राखेको छ । तीमध्ये सिकिस्त घाइते भएको एकजनालाई थप उपचारको लागि काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइसकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

त्यसैगरी वर्षाको कारण डुबानमा परेका दाङ्ग जिल्लाका सिस्निया र पिपरिया गाविसमा पानीको बहाव बढेको कारण अलपत्र परेका व्यक्तिहरुलाई नेपाली सेना र स्थानीय व्यक्तिहरुको सहयोगमा उद्धार गरेको र उद्धार गर्न नसकेको स्थानमा एबुलेट हेलिकोप्टर काठमाडौँबाट त्यसतर्फ पठाएको राससले जनाएको छ ।

हिमालखबर संवाददाता देविका घर्तिमगरका अनुसार १८ साउनदेअि आएको अविरल वर्षासँगै राप्ती नदिमा आएको बाढीका कारण दाङस्थित देउखुरी क्षेत्रको सिसहनियाँ गाविसका अधिकांस गाउँ डुवानमा पारेपछि जनजिवन प्रभावित भएको छ ।

दोलई खोला र राप्ती नदीमा आएको बाढीले सिसहनियाँका लठ्ठहवा, परहवा, भगवानपुर, सोनपुरलगायतका गाउँमा बढी क्षति पु¥याएको छ । बाढीले घर डुवाएपछि घरको छतमा बसेका ३ जनालाई सशस्त्र प्रहरीको डोरीको सहायताबाट उद्धार गरेको छ । सिसहनिया–७ लठ्ठहवाका कृष्णकुमार भट्टराई, जशप्रसाद गुप्ता र ओमप्रकाश गुप्तालाई डोरीको सहायताबाट उद्धार गरिएको प्रहरी निरीक्षक डिसीले जानकारी दिए । त्यस्तै १९ साउन बिहान करीव ११ बजे तिर राप्ती नदीले ४ जना स्थानीयलाई बगाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । उद्दारका लागि सशस्त्र प्रहरी बल ज्वालामाई गणबाट डिएसपी दिलबहादुर पन्थीको नेतृत्वमा ७० जनाको टोली खटिएको छ ।

लगातार वर्षा भइरहेका कारण देउखुरीका थप गाउँहरु पनि डुवानको उच्च जोखिममा रहेका छन् । यसैबीच घोराही लमही सडक खण्डमा पर्ने कटुवा खोला, बाल्मीकी खोला, बबइ खोलामा बाढीको बाहाव बढेपछि घोराहीबाट थप उद्दार टोली देउखुरी आउन सकेको छैन ।
लगातार वर्षाका कारण लालमटियाका ६ र ७ का वासीन्दालाई सुरक्षित स्थानमा सारिएको छ । राप्ती नदीमा बाढीको जोखिम बढेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालाय भालुवाङले जनाएको छ । त्यस्तै सिसहनियाका ४, ५, ६, ७, ८ र ९ नम्वर वडा, सोनपुरको ४, गंगापरस्पुरको ३ र सतवरियाको ६ नम्वर वडा डुवानमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा डुबान क्षेत्रमा उद्दार कार्य जारी रहेको छ ।

यसैगरी वर्षाका कारण पूर्वपश्चिम महेन्द्र राजमार्गको शिवपुर–भालुवाङ्ग सडक खण्डका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरो डोजरले पन्छाएर यातायात सुचारु गरिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । शिवपुरको बनकसबास, चोरखोला, धान खोलालगायत स्थानमा सडकमाथिबाट ठूला तथा साना पहिरो खसेको थियो । अविरल वर्षाका कारण वर्षा भएपछि तुलसीपुर–घोराही तथा घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ ।

तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको ना.४.ख. ३१६६ नम्वरको बस गुर्जे खोलामा लिक भन्दा तल खसेको छ । प्रहरी र स्थानीयले बसमा रहेका यात्रुहरुलाई डोरीको सहायताबाट उद्दार गरेका थिए । त्यस्तै कटुवा खोलाले रा.२.त. २३८२ नम्वरको ट्याक्टर बगाएको छ । यसअघि पनि ४ साउनमा आएको बाढीका कारण लालमटीया, सिसहनियाँ र सोनपुर गाविसका दर्जन बढी गाउँका तीन हजार घर डुवानमा परेका थिए भने करोडौंको धनमालको क्षति भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>