थप समाचारआइतबार, माघ १२, २०७०
एसओएसद्वारा ११५० जनालाई समाजमा पुनःस्थापना
एसओएस बालग्राम नेपालले घरपरिवारविहीन र जोखिममा परेका साना बालबालिकालाई बालग्रामको घरमा हुर्काएर, गुणस्तरीय शिक्षा र आवश्यक प्राविधिक सीपसमेत दिएर उनीहरुलाई समाजमा पुनःस्थापना गराएको छ । बालग्रामको ४०औँ स्थापना दिवसको अवसरमा बालग्रामका राष्ट्रिय निर्देशक शङ्कर प्रधानाङ्गले भने, “बालग्राममा हुर्केर समाजमा पुनःस्थापित हुनेहरु डाक्टर, इन्जिनियर, बैंकर्स, नर्सिङलगायतका क्षेत्रमा उपल्लो तहमा कार्यरत छन् ।
प्रधानाङ्गका अनुसार नेपालभर रहेका एसओएस बालग्राममा हुर्केर समाजमा पुनःस्थापित भएकाहरुमा डाक्टर, इन्जिनियर, बैंकर्स, नर्सिङ, पर्यटन क्षेत्रमा उपल्लो तहमा कार्यरत रहनाका साथै सरकारी र शैक्षिक सेवामा पनि उत्तिकै सङ्ख्यामा छन् । केही विदेशमा समेत कार्यरत छन् ।
बालग्रामअन्तर्गत काठमाडौँको जोरपाटीमा रहेका पाँचवटा घरमा ४० जना शारीरिक अपाङ्गता भएका बालबालिका र वयस्क आश्रित छन् भने ४० वर्षको अवधिमा कम्तीमा पनि ३० जना शारीरिक अपाङ्गता भएका व्यक्ति उचित सीप र शिक्षा पाएपछि आत्मनिर्भर हुँदै समाजमा पुनःस्थापित भएका छन् ।
समाजका एकल, विधुवा र परित्यक्त महिलालाई बालग्रामले आवश्यक तालिम दिई उनीहरुलाई बालग्रामका आमाहरुको जिम्मेवारी दिएर समाजमा अर्काे उदाहरणीय काम गर्दैआएको प्रधानाङ्गले बताउनुभयो ।
सन् १९६८ मा एसओएस अन्तर्राष्ट्रिय बालग्रामका संस्थापक प्रा. डा. हर्मन माइनरले नेपालको भ्रमण गरेपछि बालग्राम निर्माण कार्य शुरु भएको हो । २७ कात्तिक २०३० मा नेपालमा एसओएस बालग्रामको स्थापना भएको हो । सानोठिमीमा पहिलो एसओएस बालग्राम निर्माणका लागि सरकारले निःशुल्क जग्गा उपलब्ध गराएको थियोे ।
नेपालमा एसओएस बालग्राम सानोठिमी, जोरपाटी, इटहरी, पोखरा, सुर्खेत, काभ्रे, भरतपुर, लुम्बिनीमा गरी नौवटा छन् भने यसै वर्षदेखि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली धनगढीमा १८ वटा घरसहितको नयाँ बालग्रामको निर्माण थालिने भएको छ ।
रासस
