समाचारआइतबार, माघ १२, २०७०

संसदको पहिलो बैठकः नेताहरुले के भने

हिमालखबर

८-१० वर्षमा कायापलटः कोइराला
संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो दलले सबैसँग छलफल गरेर चाँडै सरकार गठन गरी  शान्ति, लोकतन्त्रको स्थायित्व सुनिश्चित गर्दै  मुलुकलाई  विकासको बाटोमा डोर्‍याउने बताएका छन् ।

कोइरालाले अहिले देश सबैतिरबाट कमजोर बन्दै गएको र यसका लागि बाह्य शक्तिभन्दा पनि आन्तरिक कारण नै प्रमुख रहेको धारणा व्यक्त गरे ।

सबै दलहरु एकजुट भएर लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकलाई विकासका तर्फ अघि बढाउनु पर्नेमा उनले जोड दिए । कोइरालाले भने, “इमान्दारीपूर्वक काम गर्ने हो भने ८–१० वर्षमै मुलुकको कायापलट हुन्छ, धेरै पर्खनु पर्दैन ।”

स्थानीय निकायको निर्वाचन जरुरीः खनाल
बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले १६ वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्नु ठूलो दुर्भाग्य भएको बताए।

संविधान निर्माणसँगै स्थानीय निकायको निर्वाचन गराउन तर्फ सबै सचेत हुनुपर्ने खनालले बताए ।

संविधान निर्माणका अधिकांश काम यसअघिको संविधानसभाले गरिसकेको भन्दै खनालले विगतको समझदारीमै टेकेर अघि बढ्नु पर्नेमा जोड दिए ।

उनले निर्वाचनमार्फत जनताले बहुपहिचानमा आधारित संघीयतामा जाने निर्देश गरेको बताए। अहिले देशमा स्थिर सरकार चाहिएको खनालको भनाई थियो ।

पार्टीलाई सानोठूलो नभनौं: दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सिट संख्याका आधारमा पार्टीलाई सानो ठूलो भनेर हेरिएमा त्यो ऐतिहासिक भूल हुने बताएका छन् ।

दाहालले पहिचानसहितको संघीयता स्थापित गर्न अघिल्लो पटकको संविधानसभामा अन्तिमसम्म आफूले प्रयास गरेको भन्दै अघिल्लो संविधानसभामा भएका सहमतिहरुको स्वामित्व ग्रहण गर्दै ६ महिनामा संविधानको मस्यौदा तयार गर्ने र एकवर्षमा संविधान जारी गर्ने बताए ।

उनले आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्दै नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु पर्ने धारणा व्यक्त गरे । उनले भने, “हाम्रो प्राथमिकता सरकार, राष्ट्रपति नभएर संविधान नै हो।”

दाहालले संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीलाई पनि सहमत गराउन नयाँ ढंगले पहल गरिनुपर्ने बताएका थिए ।

पुराना निर्णय थोपर्न पाइँदैनः  थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको संविधानसभालाई पुरानो सभाको निरन्तरताको रुपमा नलिन आग्रह गरेका छन् ।

उनले भने, “यो पहिलो संविधानसभाको निरन्तरण होइन, दलहरुको निरन्तरता हुन्छ तर, संविधानसभाको हुँदैन ।”

थापाले एक्लै वा समूह बनाएर विगतको सहमतिप्रति संविधानसभा सदस्यहरुले प्रतिवद्धता जनाउन सक्ने भन्दै थपे, “तर, सबैलाई यसको बोझ बोकाउन पाइँदैन ।”

विगतमा भएको सहमतिको स्वमित्व नलिए पनि एक वर्षमै संविधान बनाउन सकिने दाबी गर्दै थापाले भने, “हामी फाष्ट ट्राकको प्रस्ताव पेश गर्छौ ।”

उनले निषेधको राजनीतिले मुलुकमा समस्य ल्याएको भन्दै संविधानसभा बाहिर रहेका दलहरुलाई पनि सहमतिमा ल्याउनु पर्ने अवस्थामा आफूहरुलाई ‘बाइपास’ गर्न खोजिए परिणाम नराम्रो हुने चेतावनी समेत दिए ।

उनले धर्मनिरपेक्षता, जातीय आधारमा संघीयता, गणतन्त्र, यी कहाँबाट कसले प्रयोग गर्‍यो आगामी दिनमा सप्रमाण बहसमा उत्रिने समेत बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>