समाचारआइतबार, माघ १२, २०७०
पूर्व प्रधानन्यायाधीश उपाध्यायलाई मस्तिष्कघात
२०४७ को संविधान मस्यौदा समितिका अध्यक्षसमेत रहेका ८४ वर्षीय पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय राष्ट्रिय इन्स्टिच्युट अफ न्युरोलोजिक र एलाइड साइन्सेज (न्यूरो अस्पताल)मा ११ माघमा भर्ना भएका छन् ।
उपाध्यायको मस्तिष्कमा रगत जमेको र डा उपेन्द्र देवकोटाको नेतृत्वको टोलीले जमेको रगत हटाउन आकस्मिक शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
उपाध्यायको मस्तिष्कमा रगत जमेका कारण चेतना शक्ति ह्रास हुँदै गएको अस्पतालद्वारा १२ माघमा जारी स्वास्थ्य बुलेटिनमा जनाइएको छ ।
उपाध्यायको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पताललले जनाएको छ । उनको उमेरको कारण ठूलो स्तरको शल्यक्रियालगायतका थप उपचारमा कठिनाइ भएको अस्पतालका प्रशासकीय अधिकृत विधायकर अधिकारीले बताए ।
रासस
