समाचारआइतबार, माघ १२, २०७०

युनुस अन्सारी सार्वजनिक, षडयन्त्र भएको दाबी

हिमालखबर

प्रहरीले युनुस अन्सारीसहित पाकिस्तानी नागरिक मसुद आलम, ओखलढुङ्गा घर भई सीतापाइला बस्दै आएका दिनेश आले, रौतहट घर भई ललितपुरको ताल्छीखेल बस्ने सोहेल खानलाई सार्वजनिक गरेको छ । खान अन्सारीका साला हुन् ।

महानगरिय प्रहरी परिसर काठमाडौँले उनीहरुबाट बरामद पैत्तीस लाख नक्कली भारतीय रुपैयाँ पनि सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई नक्कली नोटसहित ठमेलस्थित पोताला गेष्ट हाउसको कोठा नम्बर १०४ बाट पक्राउ गरेको हो ।

पाकिस्तानी नागरिक आलम र दिनेश आलेलाई पक्राउपछि बयानको आधारमा अन्सारीलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक सुवोध गौतमले बताए ।

ममाथि षडयन्त्र भयोः अन्सारी

घटनाको प्रमुख अभियुक्त मानिएका अन्सारी भने आफूमाथि षडयन्त्र भएको बताउँछन् । प्रहरी हिरासतमा नैै उनले सञ्चारकर्मीसँग भने, “म टेलिभिजन सञ्चालनको क्रममा थिएँ तर मलाई षडयन्त्रपूर्ण ढङ्गबाट फसाइयो ।” उनले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरे ।

यसअघि  अन्सारीले सञ्चालन गरेको  नेशनल  टेलिभिजन उनी जेल परेपछि  बन्द भएको थियो ।

घटनामा नै संलग्न आलेले भने आफूले अन्सारीले लगाएर नै यो काम गरेको सञ्चारकर्मीलाई बताए । उनले यसअघि पनि रु १५ हजार लिएर काम गरेको र दोस्रोपटकमा पक्राउ परेको बताए । आले लागुऔषध खैरो हेरोइन २५ ग्रामसहित पक्राउ परेर १० वर्ष कैद सजाय पाएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

अन्सारी यसअघि २०६६ पुस ७ गते थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्सको कोठा नम्बर ६११ बाट २५ लाख ४४ हजार ५०० नक्कली भारतीय रुपैयाँ र तीन केजी ७०० ग्राम खैरो हेरोइनससहित पक्राउ परेका थिए ।

तीन वर्ष नौ महिना जेल सजाय भोगिसकेका अन्सारीले जेलमा नै आलेसँग भेटेका थिए ।

घटना विवरणअनुसार ९माघमा पाकिस्तानी नागरिक आलम पाकिस्तान एयरलाइन्सको पिके २६८ नम्बरको उडानबाट नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।

काठमाडौँ झरेपछि उनी ठमेलस्थित पोताला गेष्ट हाउस पुगेका थिए । गेष्ट हाउसमा नै रकम लिन दिनेश आले ठमेल पुगेको र त्यही बेला दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आलमले एक हजार दरका तीन हजार ५०० थान नक्कली भारतीय रुपैयाँ शरीरमा बाँधेर लिएर आएको प्रहरीले जनाएको छ ।

प्रहरीले आलमको पाकिस्तान एयरलाइन्सको परिचयपत्र, पासपोर्ट र हवाइ टिकेट तथा खानको नामको भारतीय र नेपाली पासपोर्ट बरामद गरेको छ ।

अन्सारी पक्राउ परेलगत्तै भारतीय नक्कली रुपैयाँको कारोवारमा निक्कै कमी आएको र अन्सारी छुटेलगतै कारोवार बढ्न थालेको काठमाडौँ प्रहरी प्रमुखले दाबी गरेका छन् ।

जेलबाट छुटेपछि यसअघि पनि अन्सारीकै निर्देशनमा एकपटक भारतीय नक्कली नोट नेपाल ल्याइएको र त्यहाँबाट दिल्ली पठाउन सफल भएपछि हौसिएर फेरि कारोबार सुरु भएको प्रहरीको बुझाइ छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>