समाचारशनिबार, साउन २०, २०६९

वर्षायामपछि काँग्रेसले निर्णायक आन्दोलन थाल्ने

हिमालखबर

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा २० साउनदेखि पोखरामा सुरु गरिएको पार्टीका जिल्ला सचिवहरुको तीनदिने प्रशिक्षण कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले राजनीतिक र संवैधानिक सङ्कटको निकासका लागि राष्ट्रिय सहमतिको सरकार गठन अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

माओवादीप्रति देश विदेशमा अविश्वास बढेको र वर्तमान सङ्कटको निकास काँग्रेसबाहेक अरु कसैले नदिने भन्दै उनीहरुले राष्ट्रिय सहमतिको सरकार गठन गरेर त्यसको नेतृत्व काँग्रेसले लिनुपर्ने बताएका छन् । अहिलेको राजनीतिक गतिरोधको निकासका लागि काँग्रेस नेतृत्वमा सरकार गठन गनुपर्ने भन्दै नेताहरुले राजनीतिक सङ्कटको समाधानका लागि विभिन्न विकल्पबारे छलफल अघि बढाउन सकिने बताए ।

प्रशिक्षणका उद्घाटन गर्दै पार्टी सभापति सुशील कोइरालाले सम्झौता गर्ने तर पालना नगर्ने माओवादीको प्रवृतिले उसको देश विदेशमा अविश्वास बढेको भन्दै अब काँग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर सङ्कट समाधानका विभिन्न विकल्पमा छलफल गर्नुपर्ने बताए । “माओवादी कुरा एउटा काम अर्काे गर्ने गरेकाले उसको अविश्वास बढेको छ, काँग्रेस नेतत्वमा सहमतिको सरकार बनाएर राजनीतिक सङ्कट समाधानका विकल्पहरुमा छलफल गर्नुपर्छ”– सभापति कोइरालाले भने ।

उनले सहमति, एकता र मेलमिलापको विकल्प नभएको भन्दै पार्टीले संविधानको संरक्षकको हिसाबले राष्ट्रपतिलाई अनुरोध गरेको तथा वार्ता र सङ्घर्षको कार्यक्रमलाई एकैसाथ अघि बढाएको बताए । सभापति कोइरालाले पार्टीभित्र आफूले कुनै कमजोरी गरेको भए सुधार गर्न तयार भएको तर अरुले कुनै गल्ती गरेका छन् भने त्यसबारेमा पनि प्रष्ट कुरा राख्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

सभापति कोइरालाले भने “मेरा कमजोरी छन् भने म सुधार गर्छु, तर अरुका कमजोरी छन् भने त्यो पनि निर्धक्क भएर भन्नुस् खाली केन्द्रीय नेतालाई मात्र मिल्ने भन्ने हैन कि तल तपार्इंहरु पनि मिल्नुस्” उपसभापति रामचन्द्र पौडेलले विगतमा भएको पाँचबुँदे सहमति काँग्रेसलगायतका दललाई लुटपुटाउन, अलमलाउन र माओवादीले आफ्नो सत्ता लम्बाउन गरेको प्रपञ्च भएको प्रष्ट भइसकेको छ भन्नुभयो ।

“माओवादी अहिले पनि सत्ता कब्जाको रणनीतिबाट कत्ति पनि विचलित छैन, माओवादीले संविधान पनि चाहेको छैन संविधानसभा पनि चाहेको थिएन”– उपसभापति पौडेलले भने । राष्ट्रपतिले संविधानका धारा र अक्षर मात्र हेर्ने होइन कामचलाउ भएको र चुनाव, शान्ति एवम् संविधानसभा दिन नसकेको असफल सरकारलाई धेरै दिन हेरेर बस्न हुँदैन भन्दै उपसभापति पौडेलले राष्ट्रपतिले संविधानको संरक्षकको हैसियतले उपयुक्त भूमिका खेल्नुपर्ने बताए ।

सिन्धुपाल्चोकको बाह्रविसेमा भएको पार्टीको जिल्ला सभापतिहरुको भेलालगत्तै काँग्रेसले सचिवहरुका लागि व्यवस्थापन विधि तथा प्रविधि विषयक राष्ट्रिय प्रशिक्षण कार्यक्रम थालेको हो ।तीनदिने सो प्रशिक्षणमा पार्टीका ७५ जिल्लाका १५० जिल्ला सचिवहरुको सहभागिता छ । राजनीतिक प्रशिक्षणका साथै सचिवहरुलाई पार्टीको कुशल व्यवस्थापन, सूचना तथा सञ्चार, अभिलेख, नेतृत्व विकासलगायतका विषयमा पार्टीका नेता एवम् विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवम् पार्टी उपसभापति रामचन्द्र पौडेलले बताए । प्रशिक्षण २० देखि २२ गतेसम्म चल्नेछ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>