समाचारसोमबार, माघ १३, २०७०
सरकार गठनका लागि कांग्रेसको पहल
राष्ट्रपतिले सरकार गठनका लागि दलहरुलाई आग्रह गरेको भोलिपल्ट १३ माघमा नेपाली कांग्रेसले दोस्रो ठूलो दल नेकपा एमालेसँग सरकार गठनमा सहयोग गर्न आग्रह गरेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच संविधानसभा भवन नयाँबानेश्वरमा भएको छलफलमा एमाले नेताहरुले कांग्रेसले सहमतीय सरकार गठनका लागिसहयोग गर्न औपचारिक रुपमा अपील गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकमा एमालेले सबै भन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सहमतीय सरकारको नेतृत्व गरे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको कांग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिए ।
एमाले उपाध्यक्ष वामदेव गौतमले कांगे्रस नेतृत्वले सहमतीय सरकार गठनक लागि स्पष्ट खाका ल्याए आफूहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि जानकारी दिए । उनले सरकार गठनअघि राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने आफूहरुको अडान भने कायमै रहेको बताएका थिए ।
छलफलमा सहभागी कांग्रेस नेताहरुका अनुसार सत्ता बाँडफाँडमा ‘बार्गेनिङ’ का लागि एमालेले राष्ट्रपतिको निर्वाचन हुनपर्ने माग गरे पनि संविधान जारी नभएसम्म वर्तमान राष्ट्रपतिलाई निरन्तरता दिन सकारात्मक छन् ।
यसैबीच एमाओवादी नेता कृष्णबहादुर महराले संविधान निर्माणमा अप्ठेरो परेमा मात्र आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । उनले आफ्नो दलको प्राथमिकता संविधान निर्माण मात्र भएकाले कांग्रेस एमालेमिलेर सहमतिको सरकार गठन गर्नुपर्ने बताए ।
