समाचारमंगलबार, माघ १४, २०७०
माओवादी–मधेशवादी ‘चियर्स’ को तस्वीर गुप्ताद्वारा सार्वजनिक
पूर्व सञ्चारमन्त्री जेपी गुप्ताले बाबुराम भट्टराईको नेतृत्वमा माओवादी–मधेशवादीको संयुक्त सरकार गठन हुँदा नेताहरुले ‘चियर्स’ गरेको तस्वीर सार्वजनिक गर्दैे आफूलाई समाप्त पार्न पनि त्यही बेला सहमति भएको दाबी गरेका हुन् ।
त्यसबेला आफुसहित अन्य मधेशकेन्द्रित दलका नेताहरुसँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालिन उपाध्यक्ष बाबुराम भट्टराईले ‘चियर्स’ गरेको तस्वीर १४ माघमा फेसबुकमार्फत सार्वजनिक गर्दै उनले लेखेका छन्, “गहिरो गरी जान्नेहरु भन्छन, यही घटनापछि मलाई समाप्त पार्ने काल जन्मियो ।”
उनले उक्त तस्वीर ‘कहिं कतै, अरु कोहीसँग नभएको’ र अहिले आफूले सबैका लागि सार्वजनिक गरेको समेत उल्लेख गरेका छन् ।
मधेशकेन्द्रित दलहरु तमलोपा, तमलोपा नेपाल, मजफो लोकतान्त्रिक, मजफो गणतान्त्रिक र सदभावनालगायतका दलहरु सम्मिलित ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा’ र माओवादीबीच ११ भदौ २०६८ मा दुवै पक्षका सरकारवादी मुद्दाहरु फिर्ता लिने, नेपाली सेनामा मधेशी समुदायबाट सामूहिक प्रवेश गराउनेलगायतका सम्झौता भएको थियो । जुन पछि कार्यान्वयन हुन सकेन ।
सर्वोच्च अदालतले ९ फागुन २०६८ मा सार्वजनिक पदमा छँदा भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद फैसाला सुनाएका गुप्ता ५ चैत २०७० मा छुटेका थिए । जेल पर्दा उनी बाबुराम भट्टराइ नेतृत्वकै सरकारमा सञ्चारमन्त्री थिए ।
तस्वीरहरु साभार: जेपी गुप्ताको फेसबुकबाट
