थप समाचारमंगलबार, माघ १४, २०७०
चियाबगान मालिक आङदेम्वे जेल चलान
द्वन्द्व पीडितका नाममा नक्कली कागजात बनाई शान्ति मन्त्रालयवाट १ करोड २३ लाख रुपैंयाँ निकासा गराई भ्रष्टाचार गर्ने अभियुक्त ‘फक्ताङलुङ टि स्टेट’ पाँचथरका कार्यकारी निर्देशक सन्तवीर आङदेम्वेलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले थुनामा राख्न आदेश जारी गरेको छ ।
१२ माघमा अदालतमा अभियोग पत्रसहित पेश गरिएका आङदेम्वेलाई अदालतले २ दिनसम्म वयान लिएको थियो । त्यसपछि पक्ष विपक्षका वकिलहरुको बहस पश्चात अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो ।
आङदेम्वेले कम्पनीका सेयर सदस्य र कर्मचारीका कागजात भेला पारी द्वन्द पीडितका नामा किर्ते फाइल खडा गरेर रकम निकासा गराई खाएको अभियोग लागेको छ ।
आङदेम्वेसँगै प्रतिवादी वनाइएका गोपाल आचार्यलाई भने अदालतले १० हजार रुपैंया धरौटी लिएर तारेखमा छोडेको छ । उनलाई आङसराङ ४ का गोपाल पोखरेलका नाममा खाता खोल्दा आफ्नो फोटो उपलव्ध गराएर किर्ते गर्न सहयोग गरेको अभियोग लागेको छ ।
यस्तै पाँचलाख रुपैंयाँ लिएर किर्ते गर्न सहयोग गरेको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय पाँचथरका लेखापाल तारावहादुर राई र पूर्व कर्मचारी गोविन्द वास्कोटालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ ।
आफुहरुलाई द्वन्द्व पीडित वनाएर करोड वढी निकासा लिइ खाएको भन्दै १६ जनाले जाहेरी दिएपछि १६ पुषमा आङदेम्वे पक्राउ परेका थिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धान सहितको प्रतिवेदन जिल्ला यायधिबक्ताको कार्यालयमा पठाएपछि अदालतमा अभियोग पत्र दर्ता भएको थियो । अभियोग पत्रमा आङदेम्वे, जिल्ला प्रशासन कार्यालय पाँचथरका लेखापाल तारावहादुर राई र पुर्व कर्मचारी गोविन्द वास्कोटा र आङसराङ ४ का गोपाल आचार्य सहित ७ जनालाई प्रतिवादी वनाइएको छ ।
आङदेम्बे बिरुद्ध परेको किर्ते र ठगीको मुद्वामा जाहेरवाला नेपाल सरकारका तर्फवाट जिल्ला न्यायधिवक्ता राजेन्द्र भट्टराई तथा प्रतिवादीका पक्षवाट अधिवक्ताहरु छवि वास्कोटा, खगेन्द्र वास्कोटा, याम लिम्वु र सर्मान्द सिग्देलले वहश गरेका थिए ।
लक्ष्मी गौतम, पाँचथर
