समाचारमंगलबार, माघ १४, २०७०
पहिले सभामुख त्यसपछि सरकारः थापा
संविधानसभा र व्यवस्थापिका–संसदको बैठकको अध्यक्षता गरिरहेका राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले सभामुख र उपसभामुखको चयन प्रक्रिया सकेर मात्र सरकार गठनको प्रक्रिया अघि बढाउनु विधिसम्मत हुने धारणा व्यक्त गरेका छन् ।
संविधानसभा भवनस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सभामुख र उपसभामुखको चयनका साथसाथै नयाँ सरकार गठन नभएसम्म संसद बैठकले पूर्णरुपमा ‘विजनेस’ नपाउने साथै संविधान लेखनका लागि पनि दलहरु गम्भीर नहुने बताए ।
राष्ट्रपतिबाट राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान भइसके पनि नयाँ सरकार बन्न अझै केही समय लाग्ने उनले बताए ।
राजनीतिक दलहरुमा संसदीय दलको नेता छनोट गर्ने कार्यले संसदको बैठकमा सांसदहरुले धेरै समय दिन नसकेको भन्दै थापाले विगतका अध्यादेशलाई संसदको बैठकमा प्रवेश गराएर विजनेस दिइएको बताए ।
“संसदको महत्वपूर्ण काम भनेको नै दलीय सरकार गठन गरेर अगाडि बढ्नु हो,” उनले भने, “ अहिले त्यो नहुँदा राजनीतिक हिसाबले भ्याकुम जस्तो अनौठो परिस्थिति आएको छ ।”
अहिलेको संविधानसभामा धेरैजसो नयाँ अनुहारले प्रवेश पाएकाले अघिल्लो संविधानसभामा भएका सहमतिको पाटोबारे सम्बन्धित दलले ती सभासद्हरुलाई जानकारी दिने र प्रशिक्षित तुल्याउने कार्य गर्न जरुरी रहेकोमा उनले जोड दिए ।
