थप समाचारबिहीबार, माघ १६, २०७०
विदेशबाट आएका युवाको हत्या
सुर्खेतको जर्बुटा–१ को शिव सामुदायिक वनमा कतारबाट फर्केका राजन बुढाको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
१५ माघमा भेटिएको शवको साथमा कतार अन्तर्राष्ट्रिय विमानस्थलको गेटपास र दुई वर्ष अगाडिको मेडिकल जा“च गरेको रसिद भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मण शाहीले जानकारी दिए ।
शवको प्रकृति हेर्दा केहीदिन अगाडि नै कसैले हत्या गरी वनमा फालेको प्रवक्ता शाहीले बताए ।
तुइनबाट खसेर प्रहरी जवान बेपत्ता
महाकाली नदी पार गर्ने क्रममा तुइनबाट खसेर एक प्रहरी जवान बेपत्ता भएका छन् ।
दार्चुलाको धौलाकोट–६ घर भई जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी जवान महेन्द्र विष्ट बेपत्ता भएका हुन् ।
नेपाली भूमिबाट धौलाकोटसम्म पुग्ने बाटो नहुँदा भारतको बाटोहुँदै घरतर्फ गइरहेका प्रहरी जवान विष्ट धौलाकोटको तिग्रम भन्ने ठाउँमा तुइन तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएको प्रहरी निरीक्षक गणेशबहादुर बमले बताए ।
विष्टको खोजी कार्य जारी राखेको र शव फेला पर्न नसकेको प्रहरी निरीक्षक बमले जनाकारी गराए ।
जिल्लाका उत्तरतर्फ पर्ने दर्जनौं गाविसमा जान नेपाली भूमिबाट बाटो नहुँदा भारतीय बाटोबाट जानुपर्ने र महाकालीमा तुइन तर्नुपर्ने भएकाले तुइनबाट खसेर बर्सेनी धेरैको ज्यान जाने गरेको छ ।
