थप समाचारबिहीबार, माघ १६, २०७०

कोशीमा जोखिम कारोबार (दश तस्वीर)

हिमालखबर

सीता मादेम्बा, धरान

धनकुटा छिन्ताङका शिक्षक रघु राई (३०) जाडो विदालाई सप्तकोशीमा चेफा बगाएर सदुपयोग गर्छन्। १५ देखि २० घना बाँसलाई चोयाले बाँधेपछि बोझा तथा ४ देखि ६ वटा बोझा बाँधेपछि चेफा बन्छ। पहाडको बाँसलाई सप्तकोशीको पानीमा बगाउँदै दक्षिण ल्याउनुलाई चेफा बगाउनु भनिन्छ।

पहाडमा रु.४० देखि ६० मा पाइने एक घना बाँसको तराईमा रु.८० देखि ९० सम्म पर्छ। एक जनाले बगाउन सक्ने एउटा चेफामा १०० भन्दा बढी बाँस हुने र एउटा बाँसबाट रु.२० फाइदा हुँदा रु.२ हजार कमाइ हुने गर्छ। १५ वर्षदेखि चेफा बगाउँदै आएका रघु भन्छन्, “पानी डोलिएको घागी (छहरा) मा ठूला ढुङ्गा पनि हुने भएकाले ढुङ्गामा ठोक्किएर कहिलेकाहीं बोझा चुडिंदा खतरा हुन्छ।”

आम्दानीसँगै रमाइलो

घागी नभएको शान्त कोशीमा चेफामाथि उभिंदा निकै आनन्द आउने रघुको अनुभव छ। घरबाट पाँच घण्टा लाग्ने बराह क्षेत्रको तेह्र आरडीमा चेफा पुर्‍याएर बेच्दै आएका रघु घागीमा नदीले चेफालाई घुमाउँदा पनि खतरा हुने र कडा बाँसले बनाइएको चहरीको सहयोगले फेरि पुरानै अवस्थामा पुर्‍याइने बताउँछन्।

खेतीपाती गर्दै चेफा पनि बगाउँदै आएका छिन्ताङकै लोकेन्द्र राई (४७) २०५५ मा अरुण नदीको लोलहानी हेन्केमा चेफा अड्किएर पल्टिंदा दुई जना साथीसहित नदीमा खसेको बताउँछन्। पौडिएर बच्न सफल भए पनि चेफा बिग्रिएर लगानी र मिहिनेत खेर गएको लोकेन्द्र सम्झ्न्छन्। गत वर्ष उदयपुर रानीटारका विकास मगर र जीवनाथ माझीको त्यसरी नै चेफा बगाउँदा ज्यान गएको थियो।

भोजपुर, खोटाङ, उदयपुर र धनकुटाका झ्न्डै हजार जना अरुण, दूधकोशी र तमोरबाट चेफा बगाउँदै सप्तकोशीमा आउने गरेको लोकेन्द्र बताउँछन्। २० वर्षदेखि चेफा बगाउँदै आएका लोकेन्द्रको नदी नजिक जन्मेको र हुर्केकोले दुर्घटना हुँदा बच्ने उपाय जानेको भनाइ छ।

बराहक्षेत्र मन्दिरछेउको त्रिशूली घागी, तेह्र आरडी, त्रिवेणी र बराहक्षेत्रको बीचको हिन्दुला घागी र त्रिवेणी छेउको ज्यानमारे घागी खतरनाक रहेको रघुको अनुभव छ। ती घागीहरूमा हुने दुर्घटनाबाट जोगिन पछिल्लो समय केहीले लाइफ ज्याकेट लगाउन थालेको उनी बताउँछन्।

पहाडबाट ल्याइने चेफा सुनसरीको बराहक्षेत्रका चतराघाट, तेह्र आरडी र महेन्द्रनगरको सिसौलीमा बिक्री हुन्छ। व्यापारी पुन्यप्रसाद गौतमका अनुसार कात्तिकदेखि जेठको पहिलो हप्तासम्म चेफा बगाएर ल्याइन्छ। त्यसरी ल्याइएका बाँस धरान, इटहरी, झापा, दमक, झुम्का, हेटौंडा, पोखरा र काठमाडौं लैजाने गरिएको गौतम बताउँछन्।

तस्वीरहरुः सीता मादेम्बा ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>