समाचारसोमबार, साउन २२, २०६९
पश्चिम सेती अब थ्री गर्जेजको मुख्य कम्पनीलाई
थ्री गर्जेजको मुख्य कम्पनीलाई बनाउन दिनका लागि उर्जा मन्त्री समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले वार्ता टोली गठन गरेका छन् । २२ साउनमा भट्टराईले उर्जा सचिव हरिराम कोइरालाको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । वार्ता टोलीमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनाल र लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक राधेश पन्त पनि छन् ।
थ्री गर्जेजसँग वार्ता गर्न टोली २३ साउनमा चीन प्रस्थान गर्ने उर्जा सचिव कोइरालाले जानकारी दिए । पश्चिमसेतीमा लगानीका लागि थ्री गर्जेजसँग छलफल हुने उन्ले बताए । यसअघि एमओयू भएको थ्री गर्जेजको सहायक कम्पनी सीटीजीआईको विश्वसनीयतामा प्रश्न गर्ने प्रशस्त ठाउँ देखिएको लगानी बोर्डले जनाएको थियो । विघठित संसद्अन्तर्गतको प्राकृतिक स्रोत र साधन समितिका पूर्व सभासद्सँग ९ साउनमा बोर्डका प्रमुख कार्यकारी निर्देशक पन्तले सीटीजीआईले पश्चिमसेतीमा भएको एमओयू लगायतको जानकारी मुख्य कम्पनी चाइना थ्री गर्जेज कर्पोरेशनलाई नदिएको बताएका थिए ।
सीटीजीआईको विश्वसनीयतामा गंभिर प्रश्न देखिएको भन्दै बोर्डले मुख्य कम्पनीसँगै वार्ताका लागि औपचारिक पत्र पठाएको थियो । गएको फागुन १७ गते उर्जा मन्त्रालय र सीटीजीआईबीच पश्चिमसेती बनाउन एमओयू भएको थियो । सुदूरपश्चिममा बन्न लागेको ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त आयोजना हो ।
