थप समाचारसोमबार, माघ २०, २०७०
१६ वर्ष पछि घाटु नाच (तस्वीरसहित)
उनीहरुले घाटु नचाउन छाडेको १६ वर्ष पुगेछ । नयाँ पुस्ताले चासो दिन छाडेपछि उनीहरुले घाटु नाच नचाउनै छाडेका हुन् । तर, गण्डक क्षेत्रबाट दाङ बसाई सरेर आएका मगर समुदायले बिर्साइएको घाटु नाच फेरि नचाउन थालेका छन् ।
दाङको पञ्चकुले र बाघमारे गाविसमा बस्दै आएका उनीहरुले अहिले आफ्ना सन्ततिलाई घाटु नाच सिकाईरहेका छन् । पाल्पाबाट बसाई सरेर आए पनि दाङको बाघमारे र पञ्चकुलेमा हरेक वर्ष घाटु नाच नचाईने गरिन्थ्यो । तर, पछिल्ला समय घाटु नाचप्रति नयाँ पुस्ताले त्यति चासो दिन छाडे पछि घाटु नचाउन छाडेको छविलाल थापा मगरले बताउँछन् ।
५० वर्षीय उनले घाटुको सबै नाच कण्ठ भएको सुनाउँछन् । विशेषगरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी शुरु गरिने घाटु नाच वैशाख पूर्णिमामा समापन गरिन्छ । मगर, गुरुङ, दुरा समुदायमा नाचिने घाटु एक शास्त्रीय नाच हो । वियोगान्त गीतिनाटक घाटु नाच्न छाडेका दाङ पञ्चकुले–१ का मगर समुदायले अहिले आफ्ना कन्याहरुलाई नाच सिकाईरहेका छन् ।
गाउँका गुरुबाट घाटु नाच नचाउन र गाउन सिकेको छविलाल थापा मगरले हराएको संस्कृति नयाँ पुस्तालाई सिकाउन शुरु गरेको बताउँछन् । “१६ वर्ष भयो हामीले दाङमा यो नाच नचाउन छाडेको,” उनी भन्छन्, “तर, जति गरे पनि संस्कृतिप्रतिको प्रेम नमर्दो रहेछ ।”
देविका घर्ती मगर, घोराही

