समाचारसोमबार, माघ २०, २०७०
एमालेमा दुई गुटको छुट्टाछुट्टै भेला
एमाले नेतृत्वले ससंदीय दलको नेता सर्वसम्मत निर्णय गर्न नसके पछि दुवै पक्षले सभासद्को छुट्टाछुट्टै भेला डाकेका हुन् । संस्थापन पक्षले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सभासदको भेला बोलाएको छ भने ओली पक्षले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा सभासदलाई डाकेको छ ।
संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य केपी ओलीको नाम प्रस्ताव भए पछि एमालेमा विवाद चुलिएको छ । पार्टी कार्यालय बल्खुमा २० माघमा बसेको केन्द्रीय कमिटी बैठकमा दलको नेताको विषयमा सर्वसम्मत निर्णय हुन सकेन ।
सर्वसम्मत निर्णय हुन नसके पछि एमाले केन्द्रीय कमिटी बैठक २१ माघ बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । केन्द्रीय कमिटी बैठकले पनि निर्णय गर्न नसके २१ माघ दिउँसो २ बजे संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने एमाले सचिव शंकर पोख्रेलले जानकारी दिए ।
एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष खनाल र उपाध्यक्ष बामदेव गौतमले स्थायी कमिटी सदस्य ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेका छन् । दलको नेतामा दुई जना आकांक्षी देखिए पछि एमालेमा विवाद चर्किएको छ ।
तर, २० माघमा बसेको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सर्वसम्मत निर्णय गरेर अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै सचिव पोख्रेलले २१ माघ बिहानसम्ममा सहमति हुने विश्वास व्यक्त गरे ।
