समाचारबिहीबार, माघ २३, २०७०
अनशनरत अधिकारीलाई १०३ ज्वरो, हात खुट्टा चल्न छोडे
२०६४ सालमा माओवादीद्वारा हत्या गरिएका आफ्ना कान्छा छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमा अनशनरत नन्दप्रसाद र गंगामाया अधिकारीको स्वास्थ्य अत्यन्तै जटिल भएको अधिकारीका भाई ठाकुर अधिकारीले जानकारी दिएका छन् ।
अहिले नन्दप्रसादलाई १०३ डिग्री ज्वरो आएको र उनका खुट्टा चल्न छोडेको ठाकुर अधिकारीले बताए । “भर्खरै अस्पतालका निर्देशक बुलन्द थापालाई भेटें, उहाँले १०५ दिनदेखि अन्नपानी नखाँदा ज्वरो आउनै नै भयो भन्नुभयो,” अधिकारीले भने, “दाईको अवस्था अत्यन्तै नाजुक छ, डा थापाले सामान्य अवस्था भनेको १५ मिनेटमै अक्सिजन दिनु परेको छ, यता सरकारले उहाँहरुको आवज सुन्दैन । ”
अहिले नन्दप्रसाद अधिकारीलाई अक्सिजन दिइरहेको र उनको शरीर काँपी रहेको पनि उनले बताए ।
अन्नपानी त्याग गरेका अधिकारी दम्पतीलाई चिकित्सकहरुले घाँटीनेर भोजन नलीबाट पाइप छिराएर झोल प्रोटिन शरीरमा पठाई बचाइरहेका छन् ।


