समाचारशुक्रबार, माघ २४, २०७०
राष्ट्रपतिलाई संविधानसभाले चिन्दैनः ओली
एमाले संसदीय दलका नेता अोलीले व्यवस्थापिका संसदमा विशेष समय लिएर राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको प्रक्रिया थाल्न माग गरेका हुन् । २४ माघमा बसेको संसद बैठकमा विशेष समय लिएर ओलीले नयाँ संविधानसभाले अहिलेका राष्ट्रपति र उपराष्ट्रपति नचिन्ने बताए ।
“लोकतान्त्रिक मान्यता अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन यो संसदले गर्नुपर्छ,” उनले भने, “पुरानै राष्ट्रपति राख्ने हो भने पनि संसदले अनुमोदन गर्नुपर्छ ।”
उनले लोकतन्त्रको मान्यताविपरीत पुरानै राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिने अडान कांग्रेसले राख्न नमिल्ने बताए । उनले पहिलो पार्टीको हैसियतले सरकार बनाउने जिम्मा कांग्रेसको भए पनि उसले नसके एमाले तयार रहेको स्पष्ट पारे ।
‘‘पहिलो पार्टीको हैसियतमा कांग्रेसलाई सरकार बनाउन दिन हामी तयार छौ’ उनले भने, ‘तर प्रस्ताव आए सरकारको नेतृत्व गर्न एमालेलाई पनि जनताले म्याण्डेट दिएका छन् ।’
