समाचारशनिबार, माघ २५, २०७०

डा केसीले फेरि अनशन शुरु गरे

हिमालखबर

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति लगायतका यसअघि  भएका सहमति कार्यान्वयन नभएको भन्दै बरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले चौथो पटक अनशन शुरु गरेका छन् ।

यसपटक उनले संस्थानमा बरिष्ठताका आधारमा तुरुन्तै डिन नियुक्तिसहित त्रिविका पदाधिकारीहरुको राजीनामाको समेत माग गरेको डा राजेन्द्र वाग्लेले जानकारी दिए ।

डा केसीले अनशन शुरु गर्नुअघि राष्ट्रपति डा रामवरण यादवलाई भेटी चिकित्साशास्त्र अध्ययन संस्थानको विकास र मेडिकल माफियाहरु र आफूले शुरु गर्न लागेको अनशनका बारेमा अवगत गराएका थिए ।

अनशन शुरु गर्नुअघि पत्रकार सम्मेलनमा प्राडा केसीले आफ्ना मागलाई त्रिवि र सरकारले बेवास्ता गरेको र स्वास्थ्य क्षेत्रका माफियातन्त्रले पुनः चलखेल शुरु गरेकाले आफू अनशनमा बस्न लागेको बताए ।

आफ्ना माग पूरा नभएको र पुनः अनशनमा बस्ने लागेको जानकारी प्रा डा केसीले २३ माघमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, गृहसचिव जनार्दन नेपाल र त्रिविविका पदाधिकारीहरूलाई दिएका थिए ।

पछिल्लोपटक प्राडा केसीको अनशन अन्त्यका लागि सरकार, प्राडा केसी र नेपाल मेडिकल एसोसिएसनबीच १० माघमा सात सूत्रीय सहमति भएको थियो । त्यसबेलाको अनशन अन्त्य गर्ने क्रममा प्राडा केसीले भनेका थिए, “मेरो यो अनशन कुनै व्यक्तिविशेषका लागि थिएन, उत्कृष्ट पद्धति विकासका लागि थियो, त्यसैले यसलाई क्षणिक हुन दिन्न ।”

आज प्रा डा केसीले त्यही कुरा दोहोर्‍याउँदै भने, “मेरा जायज मागलाई कहीँ कतैबाट गम्भीरतापूर्वक लिइएन, त्यसैले म पुनः अनशन बस्ने तयारीमा छु ।”

यसअघि सरकारले अनशन बसेका डा केसीका मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले १० माघमा १४ दिन लामो अनशन तोडेका थिए । त्यसपछि शिक्षण अस्पतालकै सघन उपचारकक्षमा भर्ना भएर स्वास्थ्यलाभ गरिरहेका डा केसी पूर्ण स्वस्थ्य नहुँदै अनशनमा बसेका छन् ।

खोज समितिका डा. महराद्वारा राजीनामा
चिकित्साशास्त्र अध्ययन संस्थानमा नयाँ डिन नियुक्तीको सिफारिस गर्न त्रिविले गठन गरेको खोज समिति सदस्य डा। दीपक महराले राजिनामा दिएका छन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा नयाँ डिन नियुक्तिका लागि  गठित खोज समितिका सदस्य डा दीपक  महराले आफ्नो एक्लो प्रयासबाट मात्रै डा गोविन्द केसीको माग सम्बोधन हुन नसक्ने भन्दै राजिनामा दिएका छन् । त्रिविले २१ माघमा गठन गरेको खोज समितिमा महरासहित केके वली र रतिन्द श्रेष्ठ सदस्य छन् ।
समितिले संस्थानका प्राध्यापक र सहप्राध्यापकसँग राय संकलन गरेपनि सदस्यहरुबीच राय नमिल्दा निर्णयमा पुग्न सकेको थिएन ।
‘डा। केसीको मागलाई सम्बोधन गर्ने गरी डिनको सिफारिस हुनुपर्छ, तर यहाँ केसीलाई फेरि अनशन बस्न बाध्य पार्ने गरी सिफारिस हुने अवस्था आयो ।” राजीनामा दिएका महराले भने, “हामी केसीको माग सम्बोधन गर्नका लागि समितिमा आएका हौं, निहुँ खोज्न र उहाँलाई अनशन बसाउन होइन ।”

केसीलाई अनशन तोडाउन यस्तो सहमति भएको थियो (पूर्ण पाठसहित)

वेथितिविरुद्ध जेहाद

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>