समाचारआइतबार, माघ २६, २०७०
एमाओवादीको समर्थन खोज्दै कांग्रेस
कांग्रेसका शीर्ष नेताले एमाओवादी नेतालाई भेटेर समर्थन जनाउन आग्रह गरेका हुन् । दाहाल निवास महाराजगञ्जमा २६ माघ बिहान दुई दलका शीर्ष नेताबीच भएको छलफलमा आफूहरुलाई समर्थन गर्न कांग्रेसले आग्रह गरेका हो ।
पार्टी सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालालाई प्रधानमन्त्रीमा अघि सारेको काँग्रेसले समर्थनका लागि नेकपा एमालेसँग चरणबद्ध छलफल गरिरहेको छ भने समर्थनका लागि एमाओवादीलाई पनि आग्रह गरेको हो । काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय समितिको बैठकले आफ्ना संसदीय दलका नेताको नेतृत्वमा सरकार गठनका लागि सबै दलसँग अधिकतम सहमति गर्ने र समर्थन जुटाउने निर्णय गरेअनुरुप एमाओवादीका नेताहरूसँग छलफल गरिएको बताए ।
“हाम्रो पार्टीको केन्द्रीय समितिले सबै दलसँग अधिकतम सहमतिको प्रयास गर्ने निर्णय गरेअनुरुप एमालेसँग पनि समर्थन गर्न आग्रह गरेका छौँ, अरू साना–ठूला दलसँग पनि कुरा भइरहेको छ, एमाओवादीसँग पनि हामी प्रधानमन्त्रीमा दरखास्त दिन्छौँ भोट दिनूहोस् भन्यौँ, उहाँहरूले एमाओवादी छलफल गर्छौं भन्नुभएको छ,” पौडेलले भने । के अब सरकार गठनका लागि गठबन्धन एमाओवादीसँग हो भन्ने प्रश्नमा उनले भने, “अहिले त्यो कुरा भएको छैन, हामी सबैसँग भोट मागिरहेको छाँै ।”
केही दिनयता शक्ति बाँडफाँडसहित सरकार गठनका लागि घनीभूतरूपमा छलफल चले पनि काँग्रेस र एमालेबीच अझै सहमति जुट्न सकेको छैन । उपसभापति पौडेलले सरकार गठनका बारेमा एमालेसँग घनीभूतरूपमा छलफल भइरहेको जानकारी दिए । “एमालेका नेताहरू मन्त्रालय खोजेको पनि होइन भन्नुहुन्छ, अनि प्याकेज पनि भन्नुहुन्छ,” उनले भने ।
एमाओवादीसँगको छलफलमा राष्ट्रपति परिवर्तन गर्ने/नगर्ने भन्ने विषयमा एमाओवादीले नयाँ संविधानसभा आएपछि त्यसले पनि स्वीकारेको हुने किसिमको देखिने हुनुपर्छ भन्ने धारणा राखेको बताइएको छ ।
व्यवस्थापिका संसद्मा प्रधानमन्त्रीको निर्वाचनका लागि २६ माघ साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने र २७ माघमा मतदान हुने कार्यतालिका संसद् सचिवालयले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
