समाचारआइतबार, माघ २६, २०७०
संविधानसभा अध्यक्ष एमालेबाट, सहमतिमा एक बुँदा थप
२६ माघमा कांग्रेस र एमालेबीच भएको सहमतिमा संविधानसभा अध्यक्ष नेकपा एमालेकैतर्फबाट बनाउने गरी सात बुँदे सहमति भएको छ । यसअघि ६ बुँदे सहमति सार्वजनिक भएको थियो ।
यस्तो छ ७ बुंदे सहमति:
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच वर्तमान राजनीतिक परिस्थितिमा अगाडि बढ्ने सम्बन्धमा भएको सहमति
१. १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र ताजा जनादेशको मूल मर्म र भावना बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान एक वर्षभित्र निर्माण गर्ने ।
२. अघिल्लो संविधान निर्माणको सम्बन्धमा विधिसम्मत भएका सहमतिहरुको निक्र्यौल गर्दै स्वामित्व लिने ।
३. संविधानसभाबाट पारित संविधान सार्वजनिकरण भएपछि र उक्त संविधान प्रारम्भ हुनु अघि संविधानसभा व्यवस्थापिका–संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभा अध्यक्ष एवं उपाध्यक्ष र प्रधानमन्त्रीको निर्वाचन गर्ने । सो सम्बन्धी व्यवस्था गर्न नेपालको अन्तरिम संविधान, २०६३ मा आवश्यक संशोधन गर्ने ।
४. बुँदा ३ मा लेखे बमोजिमको निर्वाचनसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन संविधानसभाबाट अनुमोदन गर्ने ।
५. प्रधानमन्त्री पदका लागि व्यवस्थापिका संसदबाट हुने निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री सुशील कोइलालाई नेकपा (एमाले) ले समर्थन गर्ने ।
६. संविधानसभा अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवारलाई नेपाली कांग्रेसले समर्थन गरी मतदान गर्ने ।
७. नयाँ सरकार गठन भएको सात दिनभित्र साझा सहमतिको न्यूनतम कार्यक्रम र मन्त्रिपरिषद्को आचार संहिता सार्वजनिक गर्ने ।
