थप समाचारबुधबार, माघ २९, २०७०
बहिष्कार गरेको होइनः नेपाल
एमाले वरिष्ठ नेता नेपालले सपथग्रहण बहिष्कार गरेको नभएर असन्तुष्टी मात्र देखाएको बताएका हुन् । प्रेस चौतारी कास्कीले २९ माघमा गरेको पत्रकार सम्मेलनमा उनले आफैले भोट लिएको प्रधानमन्त्रीको सपथग्रहणमा नजाने कुरै नहुने प्रष्ट पारे ।
“पार्टीको अध्यक्ष र वरिष्ठ नेता उपस्थित भएको कार्यक्रम कसरी बहिष्कार हुन्छ ?” उनले भने, प्रश्न गर्दै, उनले भने, “बहिष्कार नभई सहमतिबाट पछि हटेको कांग्रेसलाई असन्तुष्टी देखाउन उपस्थिति कम भएको हो ।”
सरकार गठन गर्दा भएको सहमतिबाट कांग्रेस पछि हटेकोले सम्मानजनक उपस्थितिको कुरा आफूहरुले गरेको उनको भनाइ छ । “एमाले पदको लागि हानथाप गर्दैन,” उनले भने, “पुरानो फर्मुला अब काम लाग्दैन, एमाले र कांग्रेसको हैसियत संविधानसभामा उस्तै–उस्तै हो, त्यसले सम्मानजनक उपस्थिति खोजिएको हो ।”
आफू प्रधानमन्त्री हुदाँ ठूलो दल एमाओवादीसँग सामना गर्न गृह, अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय एमालेले लिएको बताउँदै उनले कांग्रेसले अहिले पुरानो फमुर्लाको कुरा गर्न नमिल्ने जिकिर गरे । “दुई दलबीच भएको भद्र सहमतिबाट कांग्रेसपछि हट्न मिल्दैन,” उनले भने ।
सरकारमा सहभागी हुने विषयमा भने उनले वार्ता र संवाद चलिरहेकोले छिट्टै टुंगोमा पुग्ने बताए । “६ महीनाभित्र स्थानीय निकायको निर्वाचन र एक वर्षभित्र संविधान जारी गर्ने विषयलाई प्राथमिकता दिनुपर्दछ,” उनले भने, “सरकारको नेतृत्व गरेको कांग्रेसले दलहरुलाई विश्वासमा लिएर काम गर्नु पर्छ ।”
माधव बराल, पोखरा

