समाचारशुक्रबार, साउन २६, २०६९
राजनीतिक सङ्कट समाधानका लागि मोर्चाः दाहाल
लोकगाथा समाजले राजधानीमा २६ साउनमा आयोजना गरेको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले नेपालको अन्तरिम संविधानले व्यवस्था गरेको सङ्घीयतालाई व्यावहारिक रुपमा कार्यान्वयन गराउनका लागि मोर्चा आवश्यक भएको बताएका हुन । उनले कार्यक्रममा भने, ‘जनतालाई अधिकार सम्पन्न गराउन यस खालको मोर्चा आवश्यक परेको हो, यो कोही कसैको विरोधका लागि होइन जनतालाई अधिकार सम्पन्न गराउन हो ।’
२५ साउनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदारहरुको बैठकले सङ्घीयता पक्षधरको मोर्चा बनाउने निर्णय गरेको थियो । वर्तमान राजनीतिक सङ्कट समाधानको लागि मोर्चा आवश्यक रहेको दाहालको भनाइ थियो ।
बाह्रबुँदे समझदारीदेखि सुरु भएको राजनीतिक प्रकि्रयालाई अगाडि बढाउन आफ्नो दलले विशेष पहलकदमी लिएको दावी उनले गरे । समान विचार भएका दलहरुबीच मोर्चा बनाउन लागिएको र मोर्चामा नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरु पनि आउने विश्वास दाहालले व्यक्त गरे ।रासस
