समाचारबिहीबार, फाल्गुण १, २०७०
निर्वाचनमा पराजयपछि पार्टी कमिटी विघटन
झापाको चन्द्रगढीस्थित कलवलगुढीमा २९ माघ राति सम्पन्न बैठकले हालै सम्पन्न संविधानसभाको निर्वाचनमा पार्टीले व्यहोरेको ‘लज्जास्पद पराजय’को समीक्षा गर्दै जिल्ला कमिटीदेखि वडा तहसम्मका नेताहरुको जिम्मेवारी घटुवासहित हेरफेर गरेको छ ।
जिम्मेवारीमा रहेका नेताहरुलाई केहीलाई एक तह र केहीलाई दुई तह घटुवा गरिएको छ । केन्द्रीय सदस्यदेखि जिल्ला इन्चार्ज र वडा सदस्यसम्मका नेता तथा कार्यकर्ताहरुको एक तह घटुवा गरिएको हो ।
केन्द्रीय सदस्य तथा झापा इन्चार्ज धर्मशीला चापागाईंलाई जिल्ला संयोजक बनाइएको छ । केन्द्रीय सदस्य गणेश नेपालीलाई झापा क्षेत्र नं ६ को इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै पूर्ववत् जिम्मेवारीमा रहेका सबै नेताको एक तह घटुवा गरिएको विघटित दमक नगर कमिटीका सचिव नवराज सुवेदीले जानकारी दिए ।
राज्य समिति भङ्ग गर्ने निर्णयपछि माओवादीका राज्य समिति तहका नेताहरु अब जिल्ला सदस्य र केही नगर तथा गाउँ सदस्य भएका छन् । जिल्ला सहइन्चार्जको जिम्मेवारी निभाइसकेका ज्योतिसिंह दर्लामी क्षेत्र नं ७ को इन्चार्ज भएका छन् । त्यस्तै झापा–७ का इन्चार्ज रहिसकेका गगन पुरी अब नगर सदस्य भएका छन् ।
अघिल्लो संविधानसभाको निर्वाचनमा पाँच सिट जितेको एनेकपा माओवादी मेची अञ्चलबाट यसपटक शून्यमा झरेको छ ।
रासस
