थप समाचारबिहीबार, फाल्गुण १, २०७०
भारतीय संसदमा खुर्सानीको धूलोः सांसदहरु घाइते
बेग्लै तेलगांना राज्य गठनसम्बन्धी विधेयक पेश गर्ने क्रममा सांसदहरुबीच बिरोध हुँदै गर्दा एक सांसदले लोकसभा बैठकमा खुर्सानीको धूलो छर्किएका हुन् । १ फागुनमा गृहमन्त्रीले विधेयक पेश गर्ने क्रममा टीडीपी, टीआरएस र कांग्रेसका सांसदले बिरोध गरेका थिए ।
बिरोधमा उत्रिएका सांसदले विधेयक खोस्ने प्रयासका साथै, हातपात र तोडफोडमा समेत उत्रिएका थिए । त्यसैबेला विजयवाडाका सांसद एल राजगोपालले खुर्सानीको धूलो छर्किएको भारतीय पत्रिका दैनिक भाष्करको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
खुर्सानीको धूलोका कारण केही सांसद घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि तीन वटा एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ ।
आन्ध्रका सांसद एम वेणुगोपालले चक्कु नै निकालेको पनि दैनिक भाष्करले जनाएको छ । घटनापछि कांग्रेस सांसद राजीव शुक्लाले सदनमा सबै सांसदलाई मार्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
बिरोधका वावजुद पनि सरकारले भने विधेयक पेश गरेको छ ।

