समाचारशुक्रबार, फाल्गुण २, २०७०
सम्मानजनक साझेदारी भए मात्र सरकारमाः पोखरेल
एमाले महासचिव पोखरेलले सम्मानजन साझेदारी भए मात्र सरकारमा सहभागी हुने जिकिर गरेका छन् । प्रेस चौतारी नेपाल धनुषाले २ फागुनमा जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा उनले गृह मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालयहरु दिन भएको समझदारीमा काँग्रेसको बुझाइ नमिलेर विवाद उत्पन्न भएको बताए ।
उनले भने, “कांग्रेस सम्मानजनक राजनीतिक साझेदारीमा आउनुपर्यो या त सरकार चलाउने आँट गर्नुपर्यो ।” उनले सहमतिका बेला वरिष्ठ नेता माधव नेपाल दिल्लीमा र नेता भीम रावल अछाममा भएकाले गृह मन्त्रालय दिने सहमतिबारे थाहा नभएको टिप्पणी गरे ।
सम्मानजनक साझेदारी नबनेसम्म एमालेले सरकार बाहिर बसेर गुणदोषका आधारमा सरकारलाई सहयोग गर्ने बताए । “भएका सहमतिलाई बेवास्ता गरी अङ्क गणितीय खेलमा लागे कांग्रेसकै लागि दुर्भाग्य हुन्छ,” उनले भने ।
रासस
