थप समाचारशनिबार, फाल्गुण ३, २०७०

हात्ती नियन्त्रणमा आएपछि विस्थापितहरु फर्कने तयारीमा

हिमालखबर

हात्तीले राति मानववस्तीमा पुगेर मान्छे मार्ने, घर भत्काउने, अन्नबाली खाइदिने गर्न थालेपछि माडी गर्दीको वडा नं. १ का धेरै परिवारले घर छोडेका थिए । निकुञ्जले हात्ती नियन्त्रणमा लिन २० दिनअघिदेखि नै प्रयास थालेको थियो ।

३ फागुन विहान हात्ती नियन्त्रण गर्न खटिएको निकुञ्जको टोलीले डार्ट गरेर बेहोस बनाई हात्तीलाई नियन्त्रणमा लिएको जनाएको छ । बस्तीबाट करिब २० मिनेटको दूरीमा अमिलिया जङ्गलमा बेहोस रहेको हात्तीलाई रेडियो कलर जडान गरी छाड्ने निकुञ्ज प्रशासनले जनाएको छ । हात्ती नियन्त्रणमा आएको खबर सुनेका गाउँलेहरु अब घर फर्कने तयारीमा छन् ।

माडीका प्रहरी नायब निरीक्षक कृष्ण खरेलले रेडियो कलर जडान गरेर हात्तीको बारेमा निकुञ्जले कार्यालयमै कम्प्युटरबाट निगरानी गर्ने बताए । हात्ती बस्तीमा छिर्न लागे तत्काल सुरक्षाकर्मी परिचालन गरी भगाउने तयारी निकुञ्जको छ ।

विगत २३ दिनदेखि माडीस्थित गर्दीको वडा नं १ अमिलियामा हात्ती आतङ्क बढ्दै गएपछि स्थानीयले गाउँ छाडेका थिए । अहिले पनि स्थानीयवासी घर फर्केका छैनन् ।

कतिपय स्थानीयवासी स्कुलको बास र कतिपय छिमेकी गाउँ भैरवपुरको शरणमा रहेका स्थानीय समाजसेवी ईश्वरी ढकालले बताए । माघ २२ गते स्थानीय ४५ वर्षीय शेरबहादुर दर्जीको हात्तीले ज्यान लिएको थियो ।

दुई दिनअघि पनि स्थानीय भीमबहादुर सुनारको घर हात्तीले भत्काइदिएको र कृष्ण दाहालको घरमा पसेर हात्तीले अन्न नष्ट गरेको थियो । चितवन निकुञ्जसँग जोडिएको अमिलियामा दुई दर्जनभन्दा बढी घर छन् ।

स्थानीयवासीले बस्ती स्थानान्तरण गर्न माग गरेको माडी प्रहरीले जनाएको छ । चितवनमा साउनदेखि अहिलेसम्म वन्यजन्तुको आक्रमणबाट सात जनाको ज्यान गइसकेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>