समाचारशनिबार, फाल्गुण ३, २०७०
शान्ति र सुरक्षाका लागि असल छिमेकी अपरिहार्य: प्रधानमन्त्री
ललितपुरमा ३ फागुनमा आयोजित ‘दक्षिण एसियामा शान्ति र सुरक्षा सहयोगात्मक विकास’ विषयक क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले शान्ति, विकास र सुरक्षा परस्परमा जोडिएको बताए ।
आर्थिक विकास, प्राकृतिक स्रोतको उपयोग तथा व्यवस्थापनका लागि साझा प्रयत्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कोइरालाले चुनौतीका रुपमा रहेको ऊर्जा सुरक्षा सम्बोधनको दिशामा यो नै पहिलो पाइला हुने बताए ।
आर्थिक सहयोग अभिवृद्धि र क्षेत्रीय एकीकरणका लागि क्षेत्रीय व्यापार तथा विकास, लगानी र व्यापारका क्षेत्रमा विद्यमान अवरोध हटाउने र आर्थिक एकीकरण एवम् लगानी प्रवद्र्धनका निम्ति सशक्त प्रयास हुनुपर्नेमा कोइरालाको जोड थियो ।
“विकासका सबैभन्दा ठूला स्रोत जनता हुन्, जनताको शिक्षा र स्वास्थ्यमा गरिएको लगानीबाट नै विकास सम्भव हुन्छ, दक्षिण एसियामा युवा र प्रतिभावान् जनता छन्”, उपयुक्त अवसरको खोजीमा विदेशिनेको सङ्ख्या बढेको र त्यो हालको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भने ।
सर्वसाधारणको बृहत् बहिर्गमनले सामाजिक क्षयीकरण र समाजमा बहुआयामिक चुनौती सिर्जना गरेको उल्लेख गर्दैै उनले उनीहरूलाई उत्पादनशील रोजगारी उपलब्ध गराउन सबैको तत्काल ध्यान जानैपर्नेमा जोडदिए ।
“दैनिक रुपमा हामीले व्यहोर्नुपरेका समस्या र चुनौतीको निराकरणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सहयोगात्मक प्रारुपलाई जनताका समस्या सम्बोधन गर्न अझ सान्दर्भिक एवम् सामयिक तुल्याउनुपर्छ”, दक्षिण एसियाली क्षेत्रमा सामाजिक एवम् आर्थिक विकासका साथै वातावरणीय संरक्षण, शान्ति, सुरक्षा र विकासको प्रवद्र्धनका निम्ति आवश्यक तत्वको उल्लेख गर्दै प्रधानमन्त्रीले भने ।
आपसी असहयोगका कारण दक्षिण एशियाले भारी मूल्य चुकाउनुपरेको पनि उनले उल्लेख गरे ।
“आतङ्कवाद यस क्षेत्रका लागि सहयोगात्मक विकास, शान्ति र सुरक्षाका लागि ज्यादै ठूलो व्यवधान र खतरा हो । हाम्रो भाग्य साझा हो र यो एकआपसमा मिलेको छ”, कोइरालाले भने ।
बृहत् राष्ट्रिय हित र जनकल्याणका लागि संविधानसभाभित्र र बाहिर रहेका शक्तिहरूसँग सहकार्य गर्न सरकार दृढ रहेको दोहो¥याउँदै प्रधानमन्त्रीले हालै सम्पन्न संविधानसभामार्फत जनताले व्यक्त गरेका आकाङ्क्षाको सम्मान गर्नैपर्ने बताए ।
“विश्वव्यापी रुपमा अङ्गीकार गरिएका प्रजातन्त्र, विधिको शासन, मानवअधिकार र सुशासनका सिद्धान्तलाई पालना गर्दै प्रजातान्त्रिक शासन पद्धतिलाई संस्थागत एवम् सुदृढ तुल्याउन चाहन्छाँै”, शान्त, स्थिर, प्रजातान्त्रिक एवम् समृद्ध नेपाल निर्माणका निम्ति आफ्नो नेतृत्वको सरकारका प्राथमिकता सुनाउँदै उनले भने ।
मुलुकको ३७ औँ प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेपछि पहिलोपटक भारतका नेता डा. करण सिंह, सार्क मुलुकका नाम चलेका कूटनीतिज्ञ, विद्वत्वर्ग, नागरिक समाजका प्रतिष्ठित व्यक्ति र सञ्चारकर्मीमाझ सार्वजनिकरुपमा अभिव्यक्ति दिनुभएका कोइरालाले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, विकास, शान्ति, स्थायित्व एवम् मित्रराष्ट्रहरूसँगको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने र नेपाली जनताको समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भारतको माथिल्लो सदन राज्यसभाका सदस्य डा. सिंहले शताब्दीऔँदेखिको भारत–नेपाल सम्बन्ध अद्वितीय रहेको उल्लेख गर्दै भारतले नेपाललाई शान्त, स्थिर र समृद्ध मुलुकका रुपमा देख्न चाहेको बताए ।
सिंहले भने, “नेपालको आर्थिक मामिलामा हस्तक्षेप गर्ने भारतको नीति छैन र यहाँको आर्थिक सामाजिक–विकासमा असल छिमेकीका नाताले सघाउनु भारतको कर्तव्य हो ।”
अभिव्यक्तिका क्रममा वेदका ऋचा, गीताका दिव्यवाणी र संस्कृत साहित्यका महाकवि कालीदासका रचना उद्धृत गर्दै उनले विश्वबन्धुत्व, भ्रातृत्व, प्रेम, सद्भाव र विकासका निम्ति सार्कका सबै मुलुक र जनताबीचको सहकार्यमा जोड दिए ।
दक्षिण एसियामा व्याप्त गरिबी राजनीतिक क्रान्तिले मात्र सम्भव नभएको भन्दै उनले आर्थिक क्रान्तिको अपरिहार्यतामा जोड दिए । युरोपेली सङ्घले जस्तै सार्कले पनि काम गर्न सक्ने विचार व्यक्त गर्दै नेता सिंहले दक्षिण एसियाका जनताको भाग्य निर्माणमा यस क्षेत्रका सरकार र जनताबीच सहकार्यको विकल्प नभएको बताए ।
नेपालको अपार जलशक्तिको मात्र उपयोग भएमा नेपाल र नेपालीको आर्थिक रुपमा कायापलट हुने उल्लेख गर्दै सिंहले पशुपतिनाथ र लुम्बिनीको माध्यमबाट धार्मिक पर्यटनलाई बढावा दिँदै विदेशी मुद्रा आर्जन गर्नेतर्फ नेपाल लाग्नुपर्ने सुझाव दिएका थिए ।

