समाचारशनिबार, फाल्गुण ३, २०७०
गृह पाए पनि सरकारमा जाँदैनौः पौडेल
रिपोर्टर्स क्लब नेपालले ३ फागुनमा आयोजना गरेको साक्षात्कारमा एमाले सचिव एवम् वार्ता टोलीका सदस्य विष्णु पौडेलले कांग्रेसले सहमति तोडेर शुरुवातमै धोका दिएको भन्दै अब गृहमन्त्रालय पाए पनि एमाले सरकारमा नजाने दाबी गरेका छन् ।
उनले भने, “प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारमा जाने ढोका बन्द भयो, हामी सरकारमा जाँदैनौ ।”
पौडेलले सरकारमा जाने विषयमा अब कांग्रेससँग वार्ता पनि हुन नसक्ने भन्दै पार्टी उपाध्यक्ष वामदेव गौतमको नेतृत्वको विषयमा काग्रेससँग कुनै कम्प्रोमाइज नहुने बताए ।
उनले एमालेलाई उपप्रधानसहित गृह दिने विषयमा वार्ता टोली र शीर्ष नेतृत्व तहमा सहमति भएको दाबी गर्दै आवश्यक परे सहमतिको प्रमाण देखाउन समेत तयार रहेको बताए ।
सचिव पौडेलले सरकारलाई दिएको समर्थन भने सरकारको काममा भर पर्ने बताए ।
उनले सुवास नेम्वाङलाई सभामुख बनाउने सहमतिबाट पनि कांग्रेस ‘ब्याक’ हुन सक्ने आशंका गर्दै आफूहरु सात बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन गर्ने पक्षमा रहेको बताए ।
आफूहरु सरकारमा नगए पनि संविधानसभा सञ्चालन नियमावाली बनेको एक वर्षभित्र संविधान जारी गर्न भने आफूहरु प्रतिवद्ध रहेको पौडेलको भनाई थियो ।
