थप समाचारशनिबार, फाल्गुण ३, २०७०
मन्त्रीमाथि प्रधानमन्त्रीको नियन्त्रण जरुरीः उपराष्ट्रपति
कुनै पनि पार्टीले जुन मन्त्रालय पाउछ त्यो आफ्नो पेवा वा दाइजोका रुपमा लिने गरेको आरोप लगाउँदै उपराष्ट्रपति परमानन्द झाले सबै मन्त्रालयहरुमा प्रधानमन्त्रीको प्रत्यक्ष नियन्त्रण हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सर्लाही सदरमुकाम मलंगवामा ३ फागुनमा सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति झाले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले आफू अनुकुल निर्णय गर्न पाउनु पर्ने र मन्त्रालयहरुमा प्रत्यक्ष नियन्त्रण राख्नु जरुरी रहेको धारणा व्यक्त गरे ।
उनले नयाँ संविधान नबन्दासम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपति नै कायम रहने भन्दै राष्ट्रपति फेर्ने मन भए दलहरुले चाँडै संविधान जारी गर्न आग्रह गरे । उनले भने, “जनताले दिएको म्यान्डेट अनुसार राष्ट्रपतिले दलहरुलाई झकझकाउने काम गर्नुभएको छ, राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्ने भए संविधान जारी गर्न दलहरुले ढिलाई गर्नु हुँदैन ।”
उपराष्ट्रपति झाले आफूले राज्यबाट सुविधा लिए पनि आफ्नो भूमिका केही नभएको भन्दै आगामी संविधानमा कि उपराष्ट्रपतिको जिम्मेवारी सुनिश्चित गर्नुपर्ने नभए उपराष्ट्रपतिको पद नै हटाउनुपर्ने बताए ।
“राज्यबाट भत्ता सुविधा लिने तर भूमिका केही नहुने यस्तो पद राख्नु भन्दा नराखेकै जाती,” झाले भने ।
उनले मधेशी नेताहरुले संघीयताको कुरा मात्रै गरेको तर विकास निर्माणलाई बेवास्ता गरेको भन्दै संघीयताले विकासलाई ओझेलमा पार्नु दुर्भाग्य भएको टिप्पणी गरेका थिए ।
