समाचारआइतबार, फाल्गुण ४, २०७०
सरकारमा नजाने एमाओवादी निर्णय
एमाओवादीले तत्कालै सरकारमा नजाने निर्णय गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा ४ फागुनमा बसेको पूर्व पदाधिकारी बैठकले तत्काल सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको हो ।
एमाओवादीले सरकार गठन भए पनि त्यसले पूर्णता नपाएको अवस्थामा पुनः कांग्रेस र एमालेलाई नै तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन आग्रह गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाले सरकारलाई सहयोग गर्न आग्रह गरे पछि एमाओवादीले पूर्व पदाधिकारी बैठक डाकेको हो ।
प्रधानमन्त्री सुशील कोइरालाले ३ फागुनमा दाहालसँग भएको भेटवार्तामा सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । दाहालले पनि सरकारलाई संकट परे सहयोग गर्ने बचन दिएका थिए ।
तर, एमाओवादीले तत्काल जनादेश अनुसार सरकारमा नगइ प्रतिपक्षमा बस्ने निष्कर्ष निकालेको नेता पोष्टबहादुर बोगटीले जानकारी दिए । उनले भने, “एमाओवादी सरकारमा जाने सम्भावना छैन ।”
एमाओवादीले अघिल्लो संविधानसभाले गरेका निर्णयहरूको स्वामित्व ग्रहणसम्बन्धी विषयलाई तत्काल संविधानसभाको बैठकमा टेबल गर्न राजनीतिक दलहरूलाई आग्रह समेत गरेको छ । अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व लिन नहुने आवाज उठिरहेको बेला एमाओवादीले तत्काल स्वामित्व ग्रहणसम्बन्धी प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।
केही समयअघि प्रमुख राजनीतिक दलका नेताहरू संलग्न कार्यदलले स्वामित्व ग्रहणको प्रस्ताव तयार पारेपनि राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाको विरोधका कारण संविधानसभाको बैठकमा टेबुल हुन सकेको थिएन ।
रासस
