समाचारसोमबार, फाल्गुण ५, २०७०
एमालेलाई सरकारमा सहभागी हुन कांग्रेसको आग्रह
कांग्रेस संसदीय समितिको बैठकले मन्त्रिमण्डलमा अविलम्ब सहभागी हुन आग्रह गर्ने निर्णय गरेको हो । पार्टी कार्यालय सानेपामा ५ फागुनमा बसेको समिति बैठकले एमालेसँग भएको सातबुँदे सहमतिलाई अनुमोदन गर्दै एमालेलाई सरकारमा सहभागी हुन आग्रह गरेको हो ।
कांग्रेसले गृह मन्त्रालयमा आफ्नो अडान यथावत राख्दै एमालेलाई सरकारमा आउन भनेको हो । बैठक पछि कांग्रेस केन्द्रीय सदस्य एवम् बिना विभागीय मन्त्री रामशरण महतले भने, “एमालेलाई अविलम्ब सरकारमा सहभागी हुन अग्रसरताका लागि आह्वान गर्ने निर्णय भएको छ ।”
कांग्रेस नेता अर्जुननरसिंह केसीले एमालेसँग भएको सातबुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस सधैं तयार रहेको बताए । उनले प्रधानमन्त्रीय पद्धतिअनुरुप गृह मन्त्रालय आफ्नो भागमा नै रहनुपर्ने अडान यथावत रहेको जानकारी दिए ।
“गृहबारे प्रधानमन्त्रीले सार्वजनिक रुपमै सहमति भएको छैन भनी सकेका छन्, प्रधानमन्त्रीय पद्धतिलाई केन्द्रबिन्दुमा राखेर गृह काँग्रेसकै रहनुपर्छ र यसमा कुनै खालको सहमति हुन नसक्ने काँग्रेसको दृष्टिकोण हो,” केसीले भने ।
बैठकमा कांग्रेसका तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रिहरुबारे छलफल नभएको नेता महतले जानकारी दिए ।
