थप समाचारसोमबार, फाल्गुण ५, २०७०
संविधानसभा अध्यक्षको चुनावी कार्यक्रम शुरु
संविधानसभा अध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन गर्ने प्रक्रिया ५ फागुन बिहान १० बजेदेखि शुरु भएको हो । संविधानसभा सचिवालयले जारी गरेको निर्वाचन तालिकाअनुसार राजनीतिक सहमतिको आधारमा कुनै नाम दर्ता नभएको संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।
सचिवालयले राजनीतिक सहमतिको आधारमा दर्ता हुनआएको प्रस्ताव बमोजिमको उम्मेदवारको नाम प्रकाशन गर्ने समय दिउँसो २ बजेसम्म तोकेको थियो । संविधानसभा नियमावली २०६५ को नियम ७ बमोजिम सो निर्वाचन हुन लागेको हो ।
राजनीतिक दलहरुबीच सहमति कायम हुन नसकेकाले अब तालिकाअनुसार ६ फागुन मङ्गलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । दिउँसो २:३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने साँझ ५ बजे बस्ने संविधानसभा बैठकले उम्मेदवारहरुमध्येबाट अध्यक्ष चुन्ने छ ।
रासस
